रूपन्देही । नाम–ठेगाना बताउन नसक्ने एक जना पुरुषलाई पाल्पाको सिद्धबाबा मन्दिर परिसरबाट बेवारिसे अवस्थामा फेला पारेपछि उद्धार गरिएको छ।
मंगलबार मानवसेवा आश्रम तिलोत्तमा शाखाले तिनाउ गाउँपालिका–३ पाल्पामा रहेकाे सिद्धबाबा मन्दिर क्षेत्रबाट अन्दाजी ३५ वर्षीय शिवु पण्डितलाई उद्धार गरी आश्रमको संरक्षणमा राखेको हो। मानसिक रूपमा अस्वस्थ भएका कारण हालसम्म उहाँको पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन।
उद्धारपछि आश्रमले उहाँको उपचार, संरक्षण तथा सम्मानजनक जीवनयापनका लागि आवश्यक वातावरण उपलब्ध गराएकाे छ।साथै, पारिवारिक पुनर्मिलनका लागि परिवार खोजी कार्यमा सहयोग गरिदिन मानवसेवा आश्रमले सबैमा आग्रह समेत गरेको छ।
मानवसेवा आश्रमले हाल देशभर सातै प्रदेशका २१ जिल्लामा २९ शाखामार्फत ७७ जिल्लाका सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण तथा सम्भव हुनेहरूको पारिवारिक पुनर्मिलन गर्दै आइरहेको छ।







