काठमाडौँ । मानवसेवा आश्रमले मंगलबार खुला सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका ५ जना सडकआश्रित मानवहरूको उद्धार गरेको छ भने १ जना आश्रितको पारिवारिक पुनर्मिलन गराएको छ।
आश्रमका कैलाली, रौतहट, बाँके, भक्तपुर र रूपन्देहीस्थित तिलोत्तमा शाखामार्फत एक–एक जना गरी ५ जना सडकआश्रित मानवको उद्धार गरिएको छ ।
मंगलबार आश्रितहरूको सेवा सहजीकरणका लागि सहयाेगी दाताहरूबाट विभिन्न अवसरमा सहयोग प्राप्त भएको हाे । जसबाट आश्रमलाई कुल ९ लाख ९ हजार ९२ रुपैयाँ बराबरको सेवा योगदान प्राप्त भएको छ भने साेही दिन आश्रितहरूको सेवा व्यवस्थापनमा ७ लाख ५१ हजार ६ सय ७४ रुपैयाँ सेवा सदुपयाेग भएकाे आश्रमले जनाएको छ।
त्यसैगरी बिहान र बेलुका गरी आश्रमका विभिन्न शाखाहरूमा ३५ वटा भोजनसेवा तथा ८ वटा खाजासेवा सम्पन्न भएका छन्।मंगलबार विभिन्न प्रयोजनका लागि ४ सय ९८ जनाले आश्रमका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै २ लाख ७६ हजार २ सय ५८ रुपैयाँ बराबरका जिन्सी सामग्री सहयोग बापत आश्रमलाई प्राप्त भएको छ ।
मानवसेवा आश्रमले आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरूको सारथी बनेर देशका २१ जिल्लामा २९ वटा शाखा विस्तार गरी, उद्धार, उपचार, पालनपोषण र पारिवारिक जिम्मेवारी पूरा गर्दै सेवा प्रवाह गरिरहेको छ।







