काठमाडौँ । मानवसेवा आश्रमले देशभर सञ्चालनमा रहेका आफ्ना विभिन्न शाखामार्फत सोमबार बिहान र साँझ गरी ४२ वटा भोजन सेवा तथा १२ वटा खाजा सेवा सफलतापूर्वक सम्पन्न गरेको छ।
सोही दिन देश–विदेशमा रहनुहुने मनकारी दाताहरूको सहयोगबाट आश्रमले सेवा योगदानस्वरूप ९ लाख ७ हजार ९ सय ४२ रुपैयाँ संकलन गरेको जनाएको छ। संकलित रकममध्ये २ लाख २ हजार ४ सय ७८ रुपैयाँ आश्रितहरूको सेवा सदुपयोगतर्फ खर्च गरिएको छ।
सेवाकै क्रममा सोमबार मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौँडाले १ जना बेवारिसे व्यक्तिको उद्धार गरी संरक्षणमा लिएको छ।
त्यसैगरी, विभिन्न प्रयोजनका लागि ४ सय ४ जनाले मानवसेवा आश्रमका देशभरका शाखाहरूको अवलोकन गरेका छन्। अवलोकनका क्रममा १ लाख ८४ हजार २ सय १० रुपैयाँ बराबरको जिन्सी सामग्री आश्रमलाई सहयोगस्वरूप प्राप्त भएको छ।
तीनै तहका सरकार, नागरिक समाज तथा देश–विदेशमा रहनुहुने मनकारी दाताहरूको सहकार्यमा मानवसेवा आश्रमले हाल देशभर २९ वटा शाखामार्फत सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण तथा पुनर्स्थापनाको मानवीय सेवा निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको छ।







