लमजुङ । सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणको महाअभियानमा जुटेको मानवसेवा आश्रम लमजुङ शाखाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति तथा लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ।
दान, चन्दा र विभिन्न सहयोग मार्फत शाखाले ४४ लाख ५७ हजार ६ सय ८ रुपैयाँ कुल आम्दानी गरेको छ ।आश्रम सञ्चालन, प्रशासनिक र कर्मचारी खर्च लगायतमा कुल ३९ लाख ३७ हजार ३ सय ४८ रुपैयाँ खर्च भएको छ भने शाखाले सबै खर्च कटाएर यस वर्ष ५ लाख २० हजार २ सय ६० रुपैयाँ बचत गर्न सफल भएकाे छ । संस्थाको कुल सम्पत्ति ४ करोड ४८ लाख ४९ हजार ४ सय ७ रुपैयाँ पुगेको छ, जसमा निर्माणाधीन भवन लगायतका स्थिर सम्पत्तिको ठूलो योगदान रहेको छ ।
वि.सं २०७३ चैत्र १२ देखि हालसम्मको शाखाले १ सय ४६ जनाको उद्धार गरेकाे हाे भने ५९ जनालाई परिवारमा पुनर्मिलन गराउन सफल भएको छ । यसवर्ष लमजुङ शाखाले १७ जना सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरेको छ भने उद्धार गरिएकामध्ये ११ जनालाई आवश्यक उपचार र परामर्श पश्चात सफल रूपमा पारिवारिक पुनर्मिलन गराइएको हाे । हाल शाखाको संरक्षणमा १३ महिला र १३ पुरूष गरी २६ जना आश्रित रहेका छन् ।
आश्रमले आफ्नो आर्थिक गतिविधिहरूलाई पारदर्शी र प्रभावकारी बनाउन चार्टर्ड एकाउन्टेन्ट्स ‘नबिन बन्जाडे एण्ड एसोसीएट्स’ बाट गराएको लेखापरीक्षण प्रतिवेदन पनि सार्वजनिक गरेको छ ।
आश्रमले गण्डकी प्रदेश सरकार र स्थानीय तहहरूसँगको समन्वयमा गण्डकी प्रदेशलाई सडकआश्रित मानवमुक्त घोषणा गरेसँगै कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्य लिएको छ। पारिवारिक पहिचान नभएका व्यक्तिहरूको पुनःस्थापना र बेसहाराहरूको सेवामा समर्पित रहने मूल आदर्शलाई आत्मसात गर्दै संस्थाले आफ्नो अभियानलाई निरन्तरता दिइरहेकाे छ ।







