२ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

मानवसेवा आश्रमद्वारा समुदाय लक्षित मनोपरामर्श सेवाकेन्द्र सञ्चालनमा

काठमाडौँ। मानसिक स्वास्थ्य सेवालाई समुदायको सहज पहुँचमा पुर्‍याउने उद्देश्यसहित मानवसेवा आश्रमले समुदाय लक्षित मनोपरामर्श तथा मनोवैज्ञानिक सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ। सेवाकेन्द्रको बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको हो।

मानवसेवा आश्रमले नेशनल प्रोग्राम सेन्टरका निर्देशक तथा विगत दुई दशकदेखि मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशील डा. सुशील कँडेलको नेतृत्व र सहकार्यमा उक्त सेवाकेन्द्र सञ्चालनमा आएको हो। उद्घाटन कार्यक्रममा बोल्दै डा. कँडेलले नेपालमा मानसिक स्वास्थ्य समस्याको अवस्था दिनानुदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको समयमै उपचार, परामर्श र व्यवस्थापन अपरिहार्य रहेको बताउनुभयो।

डा. कँडेलले आश्रममा आश्रित मानसिक रोगी व्यक्तिहरूलाई आजीवन औषधिमा निर्भर बनाउने सोचभन्दा माथि उठेर उपचारपछि आत्मनिर्भर बनाउँदै पारिवारिक पुनर्मिलन गराउनु नै सेवाकेन्द्रको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो। उहाँले आगामी १५ वर्षभित्र आमाबुवाहरू आश्रमको शरण लिन नपर्ने अवस्था सिर्जना गर्ने दीर्घकालीन सोचसहित यो सेवा सुरु गरिएको जानकारी दिनुभयो।
उहाँले उक्त सेवालाई मानवसेवा आश्रमप्रतिको उपहारका रूपमा समर्पण गरिएको बताउँदै आश्रमसँग सम्बन्धित व्यक्तिहरूलाई निःशुल्क तथा सर्वसाधारण नागरिकहरूलाई सशुल्क रूपमा सेवा प्रदान गरिने जानकारी दिनुभयो।

कार्यक्रममा नागार्जुन नगरपालिकाका उप-प्रमुख सुशीला अधिकारीले सेवाकेन्द्र सञ्चालनप्रति खुसी व्यक्त गर्दै नगरपालिका र नगरबासीको तर्फबाट आवश्यक सहकार्य र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै समुदायस्तरमै सेवा विस्तार गर्नु समयसापेक्ष र प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो।

उद्घाटन कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, समाजसेवी, चिकित्सक, मानवसेवा आश्रमका अभिभावक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यस सेवाबाट मानसिक स्वास्थ्य समस्याबाट ग्रसित आश्रितका साथै सर्वसाधारण नागरिकहरूले समेत मनोपरामर्श सेवाको लाभ लिन सक्नेछन्। सेवामार्फत संकलित सम्पूर्ण रकम मानवसेवा आश्रमको सेवा, संरक्षण तथा व्यवस्थापन कार्यमा सदुपयोग गरिने आश्रमले जनाएको छ।  सेवाकेन्द्र प्रत्येक सोमबार र बिहीबार सञ्चालन हुनेछ।

मानवसेवा आश्रमले विगत १३  वर्षदेखि नै सडकआश्रित, बेसहारा तथा मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरूको उद्धार, उपचार, पुनर्स्थापना तथा पारिवारिक पुनर्मिलनमा निरन्तर योगदान दिँदै आइरहेको छ। नयाँ सेवाकेन्द्र सञ्चालनसँगै आश्रमको मानवीय सेवामा थप आयाम थपिएको  छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि