३ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

भाइले घर खोसेपछि सडक हुँदै आश्रमसम्मः रामप्रसाद हुमागाईंकाे कथा

काठमाडौँ । जीवनले कहिलेकाहीँ आफ्नै आँगनबाट पराइ बनाइदिन्छ। आफ्नै रगतका नाताले घर छोड्न बाध्य पार्छ। यस्तै नियतिले ६८ वर्षीय रामप्रसाद हुमागाईं र उनकी ७० वर्षीया श्रीमतीलाई आज मानवसेवा आश्रम रानीवन शाखासम्म ल्याइ पुर्‍याएको छ।

काभ्रे पुर्ख्यौली घर भए पनि पछि काठमाडौं–७ कुमारीगालस्थित बुवाको घरमा बसोबास थियो घरको भाग माग्दा उनी निरीह बनेर घर छाेड्न बाध्य भएका थिए ।

“पुर्ख्यौली घरमा दुई कोठाको भाग परेको थियो,” रामप्रसाद भन्छन्, “तर कान्छो भाइले घर खोसेपछि सडकपेटीदेखि विभिन्न आश्रमसम्म भौतारिनु पर्‍यो।”
घरको भाग पाउने आशामा उनले करिब एक वर्षसम्म मुद्दा लडे। तर विवाद चर्किँदै जाँदा ज्यानकै जोखिम महसुस भएपछि घर छोड्नुबाहेक उनीसँग अरू विकल्प बाँकी रहेन।

रामप्रसादका न त बाेलिदिने बुवाआमा थिए न त  सन्तान नै। एकजना दिदी एक र दुई जना भए पनि जीवनको कठिन घडीमा साथ दिने कोही भएनन्। “न बुवाआमा बोल्न सक्नुहुन्थ्यो, न सन्तान नै थिए,” उनी भन्छन्, “आफन्त हुँदाहुँदै पनि म एक्लै भएँ।”

१६ वर्ष भारतमा भौतारिएको जीवन

सानै उमेरमा जीवनले अर्कै मोड लियो। ९ कक्षा पढ्दापढ्दै साथीहरूको लहलहैमा लागेर पैसा कमाउने सपना बोकी भारत पुगे। “बाल्यकालमै घर छोडेँ,” उनी सम्झन्छन्, “कमाइको लोभले भारत पुर्‍यायो।”

भारतमा उनले १६ वर्ष बिताए। कहिले हरियाणा, कहिले दिल्ली, जहाँ काम पाइयो, त्यहीँ पुगे। मजदुरी गरे, दुःख सहे, तर स्थायित्व कहिल्यै आएन। “उतै हराएँ,” उनी भन्छन्, “न घर, न ठेगाना उतै किन हाे बैराग लागेर उतै बस्न मन लाग्याे ।

भारतबाट फर्किएपछि काठमाडौँ आए।

४० वर्षको उमेरमा विवाह

भारतबाट फर्किएपछि ४० वर्षको उमेरमा उनले आफूभन्दा दुई वर्ष जेठी महिलासँग भागी विवाह गरे। जीवनमा साथ दिने एक मात्र साहरा श्रीमती नै बनिन्। तर विवाहपछि पनि घरको समस्या समाधान भएन। भाइले घरमा बस्न नदिएपछि दुवै जना सडकमै पुग्ने अवस्था आयो।

“घर हुँदा पनि हामी घरबारविहीन भयौँ,” रामप्रसाद भन्छन्।

यही क्रममा रामप्रसाद हुमागाईं दम्पती मानवसेवा आश्रम रानीवन शाखामा आइपुगे। आश्रममा बस्न थालेको करिब एक वर्ष हुन लागेको छ। निसन्तान उनी आफ्नै बुवाआमाजस्तै माया, स्याहार र सम्मान पाएको दङ्ग छन् ।

“आफ्नै सन्तानले नदिने माया यहाँ पाएका छौँ,” उनी भन्छन्, “गास, बास र उपचारको कुनै चिन्ता छैन। हामी खुसी छौँ।”

रामप्रसाद मधुमेह राेगको औषधि सेवन गर्दै आएका छन्। उमेरले शरीर थाकेको छ, तर अनुहारमा अझै जीवनप्रतिको आशा र कृतज्ञताको चमक देखिन्छ। श्रीमतीसँगै उनी आश्रममै दिन बिताइरहेका छन्। “हाम्रो अब कोही छैन,” उनी भन्छन्, “अब यतै बस्ने, यतै मर्ने।”

मानवसेवाप्रति कृतज्ञता

मानवसेवा आश्रमप्रति आभार व्यक्त गर्दै रामप्रसाद भन्छन्, “सम्मानजनक जीवन दिनुभएकोमा आश्रमको गुण कहिल्यै बिर्सँदैनौँ। हामी सधैँ ऋणी रहनेछौँ।”

घर, परिवार र आफन्त हुँदाहुँदै पनि बेसहारा बन्न पुगेका हुमागाईं दम्पतीको कथा समाजका लागि एक ऐना हो, जहाँ सम्पत्ति विवाद, उपेक्षा र स्वार्थले मानिसलाई सडकसम्म पुर्‍याउँछ। सडकबाट उद्धार गरिएकाहरूलाई आश्रमले जीवनको नयाँ आशाकाे दियाे बाल्दै  मानवताकाे नाताले न्यानो स्वागतका लागि सधैँ पर्खिरहेकाे हुन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि