पोखरा। पोखरा महानगरपालिका–१०, अमरसिंह चोक निवासी इन्द्रबहादुर गुरुङले आफ्नो ८४औँ जन्मदिनको अवसरमा मानवसेवा आश्रम पोखरा शाखालाई खाद्य सहयोग प्रदान गर्दै जन्मदिन मनाउनुभएको छ।
मंगलबार परेको जन्मदिनको अवसरमा उहाँले १३ हजार २ सय ४४ रुपैयाँ बराबरको आवश्यक खाद्यान्न सामग्री सहयोग स्वरूप प्रदान गर्नुभएको हो।
आठ दशकभन्दा बढी जीवनयात्रा तय गरिसक्नुभएका गुरुङले जन्मदिनलाई तडक–भडकभन्दा टाढा राख्दै आश्रममा आश्रितहरूसँग खुसी साट्ने उद्देश्यले सेवामूलक कार्यमार्फत जन्मदिन मनाउने निर्णय गर्नुभएको हो।
उहाँको यस सेवामूलक कार्यले आश्रममा आश्रितहरूको दैनिकीमा महत्वपूर्ण सहयोग पुगेको छ। प्राप्त खाद्य सामग्रीले सहयोगापेक्षी तथा असहाय व्यक्तिहरूको भोजन व्यवस्थापनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
यस अवसरमा मानवसेवा आश्रम परिवारले इन्द्रबहादुर गुरुङको दीर्घायु, सुस्वास्थ्य र सुखमय जीवनको कामना गर्दै हार्दिक आभार व्यक्त गरेको छ।
मानवसेवा आश्रमले देशभर सहयोगापेक्षी, असहाय तथा सडकआश्रित व्यक्तिहरूको उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनमा निरन्तर सेवा गर्दै आइरहेको छ।







