१३ फाल्गुन २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

माटो मिसिएको गिट्टी प्रयोग गरेपछि

म्याग्दी, २२ पुस : धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् ।

दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली सुविन, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाएका हुन् ।

स्थानीयवासीले गुनासो गरेपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीसहित पुग्दा उक्त ठाउँमा पिसिसी ढलानका क्रममा माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएपछि तत्कालै भत्काएर पुनर्निर्माण गर्न लगाएको प्रदेशसभा सदस्य जुग्जालीले बताए ।

निर्माणस्थलमा तयार पारिएको मसला सिमेन्ट, गिट्टी र बालुवा० को मिश्रणमा सडक ग्राभेल गर्न कुटेको बेस हालेको भेटिएपछि थुपारेको मसला फाल्न र गरेको ढलान भत्काउन लगाइएको हो, उनले भने, निर्माण कम्पनीका कर्मचारीले कमजोरी स्वीकार गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । निगरानी र अनुगमनमा कडाइका लागि पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्देशन दिएका छौँ ।

स्थानीयवासी विश्वास कुमाईले पिसिसी ढलानमा प्रयोग भएको निर्माण सामग्रीको गुणस्तरमा शङ्का लागेपछि व्यवसायीलाई सचेत बनाउँदा अटेर गरेपछि भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक र जनप्रतिनिधिहरूलाई जानकारी गराएको बताए ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न २०८१ साल जेठ २० गते रामसागर बिके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरहरूले लापरबाही गर्दा ग्राभेलका लागि तयार पारेको बेस पिसिसीमा प्रयोग भएको स्वीकार गर्दै कमजोरी सुधार गरिएको र गुणस्तर तथा मापदण्डमा संवेदनशील हुने प्रतिबद्धता जनाए । पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर घनश्याम रोकाले ह्युम पाइप राख्ने ठाउँमा बनाउने संरचना र निर्माण सामग्रीको गुणस्तरको विषयमा लिखित रूपमा स्पष्ट निर्देशन दिए पनि कमजोरी देखिनु ठेकेदारको कमजोरी भएको बताए ।

गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यस आयोजना म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त हो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस योजनाको ताकम खण्डमा करिब छ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएको छ । ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ ।

छ किलोमिटर दूरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।

आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो ।

यो सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी सात किलोमिटर र मच्छिम–मुना चार किलोमिटर अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको छ ।

गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी जलजला हुँदै ढोरपाटन हालै सडक सञ्जालमा जोडिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि