काठमाडौँ । मानवसेवा आश्रमले मंगलबार डेनमार्कका ७० वर्षीय नागरिक हंसलाई काठमाडौँस्थित लोटस गेस्ट हाउस, बौद्धबाट उद्धार गरेको छ।
मानसिक रूपमा विक्षिप्त अवस्थामा फेला परेका हंस करिब दुई महिना अघि बौद्ध धर्मप्रति रुचि देखाउँदै नेपाल भ्रमणका लागि आएका थिए। उनले १३ वर्षको उमेरदेखि लागुपदार्थ तथा मद्यपान सेवन गर्दै आएका उनी दैनिक करिब दुई लिटर रक्सी सेवन गर्ने गरेकाे पाइएकाे छ । गेष्ट हाउसका अनुसार लामो समयदेखि लागुपदार्थ तथा मद्यपानको लतका कारण उनी मानसिक रूपमा थप कमजाेर बनेका हुन् ।
मानसिक असन्तुलन बढ्दै जाँदा उनले अनौठो तथा असामान्य व्यवहार देखाउन थालेका थिए। सोही क्रममा आफ्नै बास बस्ने रहेको गेष्ट हाउसकाे कोठामा आगो लगाउँदा उनी सामान्य घाइते समेत भएका छन्। उनका गतिविधि असामान्य भएपछि प्रहरीको रोहवरमा काठमाडौँबाट उद्धार गरी नेपाल प्रहरी अस्पतालमा प्रारम्भिक उपचार तथा मनोसामाजिक परामर्श प्रदान गरिएको हाे।
विवाहित हंसको परिवार डेनमार्कमा रहेको र नेपालमा उनको रेखदेख तथा संरक्षण गर्ने कोही नभएपछि मंगलबार उनलाई मानवसेवा आश्रम रानीवन शाखाको संरक्षणमा राखी थप उपचार तथा हेरचाह थालिएको छ।
हाल उनको परिवार सम्पर्कमा आइसकेको र आवश्यक प्रक्रिया पूरा गरी चाँडै पारिवारिक पुनर्मिलन गरिने मानवसेवा आश्रमले जानकारी दिएको छ।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि जात, धर्म, राष्ट्रियता वा अवस्थाको भेदभाव नगरी सडकमा अलपत्र परेका, असहाय तथा सहयोगापेक्षी हजारौँ व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलन सेवा प्रदान गर्दै आइहेकाे छ ।







