१ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

बाल्यकालमै बिहे, बुढेसकालमा आश्रम—शान्ता तामाङको अधूरो संघर्षपूर्ण जीवन

काठमाडौँ । काभ्रे घर बताउने ६० वर्षीय शान्ता तामाङ काठमाडौँमा रहेकाे मानवसेवा आश्रम रानीवन शाखामा बस्दै आएको तीन वर्ष पुगेको छ। सोमबार आश्रमको आँगनमा उनी मलिन अनुहार लिएर बसेकी थिइन्। जीवनप्रति खासै उत्साह देखिँदैनथ्यो, आँखामा निरासा थियो, मन गाँठो परेकाे थियाे ।

जीवनको उत्तरार्धमा आइपुग्दा सन्तुष्टिकाे उनको अनुहारमा कुनै चमक थिएन। निराशाले यति गहिरो जरा गाडेको छ कि उनी बोल्नसमेत झर्को मानिरहेकी देखिन्थिन्। १४ वर्षकै कलिलो उमेरमा मागी विवाह गरेकी उनी बालविवाहको पीडाबाट गुज्रिइन्। बाल्यकालमै जिम्मेवारीको भारी बोकेकी शान्ता जीवनसँग निरन्तर संघर्ष गरिरहिन्।

सुख–दुःख सँगै बाँड्ने वाचासहित विवाह गरेकी उनी श्रीमानसँगै जीवनका सबै कष्ट झेल्न तयार थिइन्। तर परिस्थितिले अर्कै मोड लियो। सन्तान प्राप्त गर्न नसकेपछि उनी परिवारबाट अपहेलित भइन्। यही कारण श्रीमानले समेत साथ छाडे।

न श्रीमान रहे, न सन्तान, न परिवार। जीवन एकाएक अन्धकारमय बन्यो। उनका सबै सहारा टुटेपछि उनी एक्लै बाँच्ने संकल्पसहित घर छाडेर काठमाडौँ झरिन्। माइतमा आफन्तहरू हुँदाहुँदै पनि उनीहरू कहाँ जाने आँट गर्न सकिनन्।

काठमाडौँको डल्लु क्षेत्रमा सडक सरसफाइको काम गर्दै उनले दैनिकी चलाइन्। केही समयसम्म काम पाइरहे पनि अन्ततः त्यो निरन्तर हुन सकेन। जीवन फेरि सडकतर्फ मोडियो। सडकपेटीमै बेवारिसे जीवन बिताइरहेकी अवस्थामा उनलाई प्रहरीले दयनीय देखेपछि उद्धार गरी मानवसेवा आश्रमको संरक्षणमा ल्याएको हो।

आश्रममा खाना, बास र उपचार सबै पाएकी भए पनि शान्ताको मन शान्त छैन, झन् भारी छ। आश्रम बाहिरको वातावरणमा पुनः काम गरेर जीवन चलाउने इच्छा अझै जीवित छ। माइततर्फ केही आफन्त रहे पनि उनीहरूलाई आफ्नो अवस्थाबारे जानकारी छैन। आश्रमले पहल गरे पुनः माइत फर्किने चाहना भने उनकाे जीवित नै छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि