म्याग्दी, १४ पुष : म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूलोखोला सडकको टुनीखर्क खण्डमा स्तरोन्नति थालिएको छ ।
बेनी नगरपालिकाले १८ वर्षअघि मार्ग खुलेको सडकलाई फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान र कालोपत्र गर्न थालेको हो । रु एक करोड ६१ लाख लागत अनुमान गरिएको सडक निर्माणका लागि रु एक करोड १५ लाखमा ठेक्का पाएको शङ्कर निर्माण सेवाले डोजर परिचालन गरेर सडक फराकिलो पार्ने र पर्खाल निर्माण शुरु गरेको छ ।
आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको छ । योजनामार्फत ३५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र ४०० मिटर ढलान गरिने बेनी नगरपालिकाका सिनियर सबइञ्जिनियर कमल थापाले बताए । उनका अनुसार ३५० मिटरमा पक्की नाला र ४०० घनमिटर पलम पर्खाल निर्माण हुनेछ ।
हाल मिटर फराकिलो सडकलाई छ मिटर चौडा पारिनेछ । आर्थिक वर्ष २०६४र६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग भएको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले बताए।
रणनीतिक महत्त्वको वैकल्पिक सडक भएकाले बेनीको महारानीथानबाट डाडाबारी–छाप, डाडाखेत हुँदै ठूलोखोलाको विभिन्न ठाउँमा पछिल्लो चार वर्षयता स्तरोन्तिको काम हुँदै आएको छ । आर्थिक वर्ष २०८०र८१ म बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको थियो ।
आर्थिक वर्ष २०८१र०८२ मा छाप क्षेत्रमा कालोपत्र भएको सडक गुणस्तरीय नभएपछि मापदण्ड अनुसारको काम गर्न निर्माण व्यवसायीको धरौटी रोक्का गरिएको वडा अध्यक्ष बानियाले बताए । त्यसअघिका वर्षमा ठूलोखोलाबाट डाडाखेत खण्डमा घुम्ती र मोड सुधार तथा ढलान भएको थियो ।
बेनी नगरपालिकाले गौरवको आयोजनाका रूपमा महारानीथानबाट छाप हुँदै डाँडाखेततर्फ सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिएको छ । मार्ग खुलेको १८ वर्षपछि पक्की सडक निर्माण हुन थालेकोमा खुसी लागेको स्थानीयबासी भुवन आचार्यले बताए ।







