काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न शाखाहरू मार्फत पुसको दोस्रो हप्तामा ३८ जना सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरिएकाे छ । उद्धार हुनेमध्ये २७ जना पुरुष र ११ जना महिला रहेका छन्। सोही अवधिमा आश्रमले १० जना आश्रितहरूको पारिवारिक पुनर्मिलन गराउन पनि सफल भएको छ।
आश्रमले कठ्याङ्ग्रिदो जाडोमा खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरूको नेपाल प्रहरी, नगर प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरूसँगको समन्वयमा उद्धार गर्दै आएको छ। यसैगरी, विभिन्न समयमा उद्धार भई स्वास्थ्यलाभ गरिरहेका तथा पारिवारिक पृष्ठभूमि खुलेका व्यक्तिहरूको पारिवारिक पुनर्मिलन प्रक्रिया पनि निरन्तर रूपमा अगाडि बढाइँदै आएको छ।
मानवसेवा आश्रमले खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा शारीरिक एवं मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलन गर्दै सेवा प्रदान गरिरहेको छ।







