लुम्बिनी मर्चवार, १२ पुसः कुनै समय तराई– मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो । शुभकार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक बाजा अहिले अस्तित्व रक्षाका लागि सङ्घर्षरत छ ।
समयको परिवर्तनसँगै भित्रिएको डिजे र आधुनिक ब्यान्ड बाजाको चर्को स्वरले डफलाको मौलिक धुनलाई विस्तारै मधुरो बनाउँदै लगेको छ, लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का दिनेश लोधले भने, “लोक–संस्कारको पर्याय मानिने डफला अहिले लोपोन्मुखअवस्थामा छ ।
डफला नेपालमा अवध ९मधेस० कोविशिष्ट पहिचान बोकेको एउटा प्राचीन र मौलिक ताल बाजा हो । यसको बनावटमा जति सादगी देखिन्छ, ध्वनि त्यति नै गम्भीर र मिठासपूर्ण हुन्छ । यो बाद्ययन्त्र खासगरीसिसौ वा कर्माको काठलाइगोलाकार घेरा फ्रेम बनाएर तयार पारिन्छ ।
डफलाको एकतर्फ बाख्रा वा गाईको प्रशोधित छाला मढिएको हुन्छ । देब्रे हातले समातेर दाहिने हातका औँला, हत्केला वा दुईवटा पातला लट्ठीस्टिकको सहायताले यसलाई तालबद्ध रूपमा बजाइन्छ । यो मुख्यतया उल्लास, बिरह र बीरगाथा गायनमामा प्रयोगहुने मौलिक–साँस्कृतिक बाजा हो ।
डफलाको जीवन्त सम्बन्ध विशेषगरी होली, दीपावली र पञ्चमीलगायत अवध मधेसको संस्कृति र विभिन्न पर्वसँगपनि गाँसिएको छ । वसन्त पञ्चमीदेखि नै गाउँका चौतारा र दलानमा डफलाको तालमा ‘होरी’ ९फागु गीत० गाउने परम्पराले आपसी सद्भाव र एकताको सञ्चार गर्दछ ।
डफला’, ‘डफ’ वा डफली’ बिशेषगरीदलित समुदायभित्रका चमार र धरिकारआदिको जातिय पहिचानसँग सम्बन्धित एक विशिष्ट तालवाद्य यन्त्र हो”, मोछू चमारले भने “जसलाई हामीले आफ्नो चाडपर्व, विवाह एव सांस्कृतिकउत्सवमा मुख्य बाजाको रूपमा प्रयोग गर्दछौँ ।
लुम्बिनी सांस्कृतिक बिरहा समुहका ६० वर्षीय डफला वादक राम उजागिर चमारका अनुसार यसको उत्पत्तिको कथा अध्यात्मिक छ । उनले भन, हाम्रा पुर्खाले सुनाएअनुसार ‘डफला’ भगवान शिवको डमरु र खैँझडीको विकसित स्वरूप हो । जब भगवान शिवले ताण्डव नृत्य गरे, त्यसको ताललाई धर्तीमा उतार्न काठ र छालाको मिश्रणबाट घेराकार‘डफला’ बाजा बनाइएको हो ।
अर्का वादक चिट्टू चमारका अनुसार आदिम कालमा खुसी व्यक्त गर्ने माध्यम खोज्दा प्रकृतिको प्रतिध्वनिलाई पछ्याउँदै काठको टोड्कामा छाला मढेर बजाउँदा यसको पहिलो आवाज निस्किएको लोकविश्वास छ । तर, आधुनिकताले आफ्नो पेसा नै विस्थापित गरिदिएको उनको दुःखेसो छ ।
सम्मरीमाई गाउँपालिका–७ बेतकुइयाँका ८० वर्षीय झगरु मुरावका अनुसार, “नयाँ पुस्तामा आधुनिकताप्रतिको आकर्षण, वैदेशिक रोजगारीको मोह, सामाजिक सम्मानको कमी र न्यून आर्थिक लाभका कारण डफलाको ताल र यसको पुरानो बैभव सम्झनामा मात्र सीमित हुन थालेको छ ।
लोक–संस्कृतिका जानकार एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा त्रिभुवन बरइले यो सीप निश्चित समुदायमा मात्र सीमित रहनुलाई सङ्कटको कारण बताए । उनले भने, आधुनिक सङ्गीतले भन्दा डफलाले दिने आत्मिक शान्ति र सांस्कृतिक गहिराइ बिस्तारै हराउँदै गएको छ ।
डफलालाई सङ्ग्रहालयमा मात्र सीमित हुन नदिन स्थानीय सरकारले चासो देखाएको भन्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यवाहक प्रमुख कल्पना हरिजनले कलाकारलाई प्रोत्साहन भत्ता र सामाजिक सम्मान दिनु आवश्यक रहेको बताए । पेसागत पुस्तान्तरण नहुँदा यो कला लोप हुने अवस्थामा पुगेको भन्दै उहाँले सामूहिक डफला वादन प्रतियोगितालाई बढावा दिने बताए ।
त्यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वसीउद्दीन खाँले डफलालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए। उनले भने, यो सीपलाई जातीय घेराभन्दा बाहिर ल्याएर इच्छुक जो कोहीलाई पनि तालिम दिने व्यवस्था मिलाउनुपर्छ । राज्य र समुदाय दुबैले यसको संरक्षणमा सक्रियता नदेखाए डफलाको इतिहास किताबका पानामा मात्र सीमित हुनेछ ।







