तनहुँ, १० पुसः विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्ने कामले तीव्रता पाएको छ । व्यास(७, ९, १० र ११ वडालाई जोड्ने गरी निर्माण भइरहेको चक्रपथ मार्गमा कालोपत्र गर्न थालिएको हो ।
दैनिक एक सय १५ जना कामदार खटाएर निर्माणलाई तीव्रता दिइएको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए । उनका अनुसार विश्व बैंकको आर्थिक सहयोगमा निर्माणाधीन उक्त मार्ग चालु आर्थिक वर्षभित्र सम्पन्न नभए ठेक्का रद्द हुने भएकाले निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो ।
निर्माण कम्पनीले पुस महिनाभित्र चार किमी सडकमा असफाल्ट प्रविधिको कालोपत्र गर्ने योजना बनाएको छ, उनले भने, कालोपत्र गरिएको सडक चार सेन्टिमिटर मोटाइको हुनेछ । एक महिनाअघि २५ प्रतिशत भौतिक प्रगति हासिल भएको यस मार्गको हालसम्म ३५ प्रतिशत बढी काम सम्पन्न भएको नगरपालिका कार्यालयले जनाएको छ ।
वर्षौँदेखि हिलो, धुलो र खाल्टाखुल्टीका कारण सस्तीपूर्ण यात्रा गर्दै आइएकामा सडक सम्पन्न भएपछि स्थानीयलाई आवतजावत गर्न र कृषि उपजलाई बजारसम्म पुर्याउन तथा ढुवानीका लागि सहज हुने व्यास(११ का वडाध्यक्ष दलबहादुर दुराले बताए ।
पराशर मार्गअन्तर्गत पर्ने बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अधेँरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्तीसम्म १० दशमलव छ किलोमिटर कालोपत्र गरिने नगरपालिकाका इञ्जिनियर डा राजु पौडेलले जानकारी दिए । पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको उनले बताए।
आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले बोलपत्र प्रक्रिया पूरा गरी निर्माणको जिम्मा पाएको छ । नगरपालिकाका अनुसार उक्त आयोजनाका लागि निर्माण कम्पनीले मूल्य अभिवृद्धि कर भ्याट सहित रु ४० करोड ८३ लाख ३५ हजार ९२१ मा निर्माणको ठेक्का पाएको हो ।
निर्माण कम्पनीले चालु आवको अन्त्यसम्ममा आयोजना सम्पन्न गर्नेगरी सम्झौता गरेको छ । छनोटपश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाएको थियो ।
सडक सञ्चालनमा आएपछि बजारसम्मको पहुँच सहज र छिटो हुनुका साथै सामाजिक सेवा प्रदानमा सहज हुने व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले सहरीकरण, स्थानीयको आवश्यकता लगायत पक्षलाई प्राथमिकता राखेर काम गर्ने क्रममा पराशर मार्ग छनोटमा परेको बताए ।







