काठमाडौँ, ९ पुसः नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलको कार्यालय पुगेर छलफल गरेको छ ।
समितिका संयोजक र सदस्यसहितको टोलीले आज जनमत पार्टीको कार्यालय अनुगमन गरी निर्वाचन सम्बन्धी छलफल गरेको हो । छलफलपछि उद्योग, पर्यटन र कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री अनिल सिन्हाले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचन समयमा गर्नैपर्ने र त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।
समितिका संयोजकसमेत रहेका उनले भने, सरकारले के तयारी गरेको छ भन्ने कुराको हामीहरुले जानकारी दिएका छौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पनि बृहत् रुपमा छलफल भयो । निर्वाचनको तयारी भइरहेको बारेमा हामीले स्पष्ट रुपमा उल्लेख गरेका छौँ । उनले चुनाव गर्दा केही सुरक्षाका विषय उपायको बारेमा र केही अन्य ‘लजिस्टिक्स’हरुको बारेमा पनि सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । त्यसलाई सरकारले गहन रुपमा लिने छ भन्ने कुराको मैले जानकारी गराए ।
यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं समितिका सदस्य जगदीश खरेलले चुनावको वातावरण तयार गर्नका लागि सरकारको तर्फबाट मुख्य राजनीतिक दलहरुको पार्टी कार्यालयमै पुगेर छलफल प्रारम्भ गरेको बताए । नेपाल सरकारका प्रवक्तासमेत रहेएका उनले सरकारले चुनावको आवश्यक तयारी गरिरहेको उल्लेख गर्दै निर्वाचनमा दलहरुको सहयोगका लागि आभार व्यक्त गरे ।
मन्त्री खरेलले भन्नुभयो, “जति राजनीतिक दलहरुका कार्यालयमा पुग्यौँ, चुनावका लागि वातावरण बनिसकेको र चुनावका लागि उनीहरु तयार भएको सन्देश हामीले पाएका छौँ र अब हामी सबै चुनावमा होमिनुपर्छ भन्नेमा सरकार उत्साही भएर अगाडि बढेको यहाँहरुलाई जानकारी गराउँछु ।
छलफलपछि अध्यक्ष राउतले सरकारको यो कदम सकारात्मक भएको उल्लेख गर्दै निर्वाचनको विषयमा जनमत पार्टीले सुरुदेखि नै भाग लिने भनेर निर्णय गरेको अवगत गराए । त्यसका लागि आवश्यक तयारी जनमत पार्टीले गर्दै आएको छ । हामीले मेचीदेखि महाकालीसम्म एक चरण तयारी गरिसकेका छौँ । हामीले निर्वाचनको क्रममा हुनुपर्ने केही सुरक्षाका कुराको विषयमा सरकारसँग कुरा राखेका छौँ र त्यसका लागि पनि हामीले सरकारबाट राम्रै आश्वासन पाएका छाँै ।
निर्वाचनमा सुरक्षादेखि हतियारका कुरा र कैदीबन्दी बाहिर भएको विषयमा कुरा उठाएको र सरकारबाट त्यसका लागि सकारात्मक आश्वासन पाएको अध्यक्ष राउतले बताए।







