९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

सन्तानविहीन भएपछि जीवनसाथीको साथ गुमाएकी सुनिताको संघर्ष

काठमाडौँ । उमेर ७४ वर्ष, आँखाले अब संसार देख्दैनन्, न कानले आवाज स्पष्ट नै सुन्छन्। तर स्मृतिमा जीवनका असंख्य कथा अझै जिउँदै छन्। ती कथाहरू बोकेर मानवसेवा आश्रमको आँगनमा हँसिलो अनुहार लिएर बसिरहेकी छन्-सुनिता थापा क्षेत्री।

उनी तीन महिनाकी हुँदा नै आमाको मृत्यु भयो। बाल्यकालमै आमाको माया गुमाएकी सुनिताको पालनपोषण बुवाले गर्नुभयो। उनका बुवा सिंहदरबारमा जागिरे थिए । विगत सम्झिँदा उनी कहिलेकाहीँ भावुक हुन्छिन्, त कहिले धेरथोर स्मृति अरूलाई सुनाउँछिन् ।

पहिले त्यसै बसेर के गर्नु भनी उनी नाङ्लोमा सामान बेचेर हिँड्थिन यही संघर्षकाबीच साइकलमा फलफूल बेच्ने एक भारतीय युवकसँग उनको चिनजान भयो। चिनजान विस्तारै निकटतामा बदलियो र अन्ततः उनीहरूले भागी विवाह गरे।

विवाहपछि दुवैले आफूले सक्ने व्यापार गर्दै परिवार चलाए। केही समय सातदोबाटो क्षेत्रमा व्यापार गरे भने झण्डै ३३ वर्ष ललितपुरको ठैबमा निरन्तर व्यापार गरे। व्यापार राम्रो चलिरहेको थियो, वैवाहिक जीवन पनि सहज नै देखिन्थ्यो। तर समयसँगै सम्बन्धमा दरार पर्न थाल्यो, कारण एउटै थियो-सन्तान नहुनु।

वर्षौंसम्म उपचार गराए, अनेक प्रयास गरे, तर उनीहरू सन्तानविहीन नै रहे। विशेषगरी भारतीय समाजमा सन्तानप्राप्तिलाई ठूलो महत्त्व दिइने भएकाले समाजको दबाब र परिवारको अपहेलनाले उनीहरूको सम्बन्ध झन् कमजोर हुँदै गयो। अन्ततः त्यो सम्बन्ध टुट्यो।

निसन्तान नहुनुको पीडामाथि जीवनसाथीको साथ छुट्दा सुनिता झन् निरीह बनिन्। “सुखदुःख सँगै बाँड्ने वाचा गरेको मान्छेले पनि साथ छाड्यो,” उनी भन्छिन्। अन्ततः एक्लै बाँच्ने प्रण गर्दै उनले श्रीमानसँग सम्बन्ध विच्छेद गरिन् र पुनः व्यापारमै फर्किइन्।

तर उमेरसँगै शरीरले साथ  दिन छाड्याे । शरीर कमजोर हुँदै गयो, आँखाको दृष्टि धमिलिँदै गए। काम गरेर खान सक्ने अवस्था रहेन। एक्ली बनेकी सुनिताले बाँच्नका लागि माग्न थालिन्।

भोकै, निःसहाय र बेवारिसे अवस्थामा सडकपेटीमै जीवन बिताउन बाध्य भइन । साेही क्रममा उनलाई करिब एक वर्षअघि प्रहरीको सहयोगमा मानवसेवा आश्रमले उद्धार गरी संरक्षणमा राख्यो।

आज उमेरसँगै शरीर कमजोर भए पनि उनको बोलीमा अझै दम छ। आफ्ना कुरा स्पष्ट रूपमा राख्न सक्छिन्। आँखाले नदेखे पनि अनुहारमा हाँसो छ। आश्रमको आँगनमा बसेर उनी जीवनका नयाँ दिनहरू शान्त रूपमा बिताइरहेकी छन्।

मानवसेवा आश्रमले सुनिताजस्तै सहाराविहीन, अभिभावकविहीन र असहाय व्यक्तिहरूलाई संरक्षण, उपचार र सम्मानपूर्वक जीवनयापनकाे लागि अवसर प्रदान गर्दै आएको छ। सुनिता थापा क्षेत्रीको जीवनकथा मानव जीवनको कठोर यथार्थ र मानवताको न्यानो सहाराको सजीव  एक उदाहरण हाे।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि