तिलोत्तमा । पुस महिनाको कठ्याङ्ग्रिदो जाडोमा सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेका दुई जना बेवारिसे पुरुषलाई सोमबार मानवसेवा आश्रम तिलोत्तमा शाखाले उद्धार गरेको छ।
उद्धार गरिनेमा ६५ वर्षीय केशरबहादुरलाई तिलोत्तमा नगरपालिका–१६ स्थित पत्थरडाँडाबाट उद्धार गरिएको हो भने देवदह नगरपालिका–५ खैरेनी टोलबाट अलपत्र अवस्थामा भेटिएका ३० वर्षीय राजकुमार हरिजनलाई नेपाल प्रहरीको समन्वयमा उद्धार गरी आश्रमको संरक्षणमा राखिएको छ।
दुवै जना मानसिक रूपमा कमजोर रहेका कारण केही समयदेखि सडकपेटीमै बस्न बाध्य भएका हुन्। मानवसेवा आश्रमले उनीहरूलाई उपचारसँगै सुरक्षित आश्रय प्रदान गरेको जनाएको छ।
हाल उनीहरूको पारिवारिक पृष्ठभूमि खुल्न नसकेको र पारिवारिक पुनर्मिलनका लागि पहल भइरहेको छ। साथै, उनीहरूलाई चिन्ने वा परिवारसम्बन्धी जानकारी हुने व्यक्तिलाई सम्पर्क गरिदिन मानवसेवा आश्रमले सबैमा आग्रहसमेत गरेको छ।







