काठमाडौँ, ९ पुसः सरकारले आसन्न निर्वाचनको वातावरण बनाउन प्रमुख राजनीतिक दलहरुसँगको वार्ता र संवादलातई तीव्रता दिएको छ । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत राजनीतिक दलसँग चरणबद्ध वार्ता र छलफलमा जुटेको हो ।
सोही प्रयोजनका निम्ति सरकारी वार्ता टोलीले प्रमुख तीन दलका कार्यालय अनुगमनका साथै नेताहरुसँग छलफल गरेको छ । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले मङ्गलबार कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगेर निर्वाचनको वातावरणका लागि वार्ता र संवाद गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनील सिंहको संयोजकत्वमा गठित समितिमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त ती दलका कार्यालयको अनुगमनकासाथै दलहरुसँग निर्वाचनको माहोल बनाउनेबारे कुराकानी गरे ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त राजनीतिक दलका कार्यालय अवलोकन गर्ने क्रममा मन्त्री सिन्हा र मन्त्री खरेलले प्रमुख दलका मागका विषयमा सरकार गम्भीर रहेको बताएका थिए। उनहरू सानेपास्थित नेपाली कांग्रेस, ललितपुरको च्यासलमा रहेको नेकपा एमाले र पेरिसडाँडास्थित नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगी त्यहाँ भएको क्षतिको विवरण लिनुका साथै दलका प्रतिनिधिसँग छलफल गरेका थिए ।
सरकारका मन्त्रीहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उनीहरूबाट उठाइएका विषय सरकारसमक्ष पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
तीनवटै राजनीतिक दलको कार्यालय अनुगमन र सम्बन्धित दलका नेताहरुसँगको संवादपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण बनाउनका लागि गरिएको दलहरुसँगको वार्ता र संवाद उपलब्धिमूलक रहेको र यसले निर्वाचनलाई सुनिश्चित गरेको बताए।
सरकार इमान्दारीकासाथ निर्वाचन गराउन खोजिरहेको छ भन्ने स्पष्ट सन्देश प्रवाह गर्न आफूहरू राजनीतिक दलका कार्यालयले पुगेर संवाद गरेको उनले बताउनुभयो । सञ्चारमन्त्री खरेलले भने, निर्वाचनका लागि यो राजनीतिक दललाई सकारात्मक दबाब हो, हामी चुनाव चाहन्छौँ, चुनावको तयारी यो गरेका छौँ भन्ने स्पष्ट सन्देश हो ।
निर्वाचनमा भाग लिनुहोस् भनेर सरकार राजनीतिक दलको कार्यालयमा पुगेको यो नै पहिलो पटक भएको बताउँदै सञ्चारमन्त्री खरेलले यसबाट सरकार निर्वाचन गराउन कति प्रतिबद्ध छ भन्ने स्पष्ट सन्देश हो भने ।
नेपाली कम्युनिष्ट पार्टीको कार्यालय अवलोकनका क्रममा सो पार्टीका संयोजकले पदाधिकारीका तर्फबाट स्पष्ट कुरा आएको उल्लेख गर्दै उनले भने “संसद् पुनःस्थापना गर्न हुँदैन, अब चुनावमै जानुपर्छ भनेका छन् । जेनजीले उठाएका माग सम्बोधन भएन भने थप जटिलता हुनेतर्फ आफूहरूलाई भनेको उल्लेख गर्दै उनले नेकपाले स्पष्ट रुपमा निर्वाचनमा जानुपर्ने धारणा राखेको जानकारी दिए ।
मन्त्री खरेलले सरकार, राजनीतिक दल र जनता निर्वाचनको बाटोमा होमिनुपर्छ भन्नेमा सबै राजनीतिक दल निर्वाचनमा जानेमा सबै स्पष्ट रहेको आफूहरूले पाएको स्पष्ट पारे । उनले राजनीतिक दलका नेताहरूलाई सरकार निर्वाचन गराउन प्रतिबद्ध रहेको विश्वास दिलाएको बताए । उनले भने, सरकारले निर्वाचनको वातावरण बनाउँछ, अब निर्धारित मितिमा चुनाव हुन्छ ।
नेकपा कार्यालय पेरिसडाँडामा भएको छलफलपछि मन्त्री सिन्हाले आन्दोलनका क्रममा भागेका अधिकांश कैदीबन्दी पक्राउ र लुटिएका धेरै हतियार बरामद भएकाले सङ्गठित रूपमा अपराध हुनसक्ने कुनै सम्भावना नरहेको तथा निर्वाचनको वातावरण बन्दै गएको विश्वास दिलाए । उनले राजनीतिक संवादमार्फत निर्वाचनमा जानुको विकल्प नरहेको जनाउँदै लोकतन्त्र पुनःस्थापित गरी संविधानको मर्म र भावना प्रतिनिधिसभाको निर्वाचन गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री सिन्हाले भने, आन्दोलनका क्रममा दलका भौतिक संरचना के–कति क्षति भए, कसरी पुनर्निर्माण भएको भइरहेको छ त्यो हेर्न आएका हौँ । दलका पदाधिकारीसँगको छलफलमा निर्वाचन सुरक्षाबारे विभिन्न प्रश्न उठेका छन् । तर चुनावको विकल्प छैन भन्नेमा विवाद छैन ।
छलफलका क्रममा केही सुरक्षा र केही नेताहरूसँगको विषयको प्रश्न उठेको बताउँदै उनले प्रमुख दलहरूको सम्पर्क तल्लो तहसम्म भएकाले एक पटक चुनावी नारा तलसम्म पु¥याएर चुनावी वातावरण बनाउन अनुरोध गरिएको जानकारी दिनुभयो । सरकारले मन्त्री सिन्हाको संयोजकत्वमा गठित राजनीतिक वार्ता समितिले निर्वाचन आयोगको तयारी सम्बन्धमा मुख्य दलकै कार्यालयमा गएर छलफल निर्णयअनुरूप उनीहरू त्यहाँ गएका हुन् ।
मङ्गलबार नै राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितमा प्रधानमन्त्री सुशीला कार्की तथा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ सहितको बैठक भएको थियो । उक्त बैठकले फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।







