काठमाडौँ। मानवसेवा आश्रमका विभिन्न शाखाहरूले पुस महिनाको पहिलो सातामा २९ पुरुष र १४ महिला गरी जम्मा ४३ जनाको उद्धार गरेका छन्। सडकपेटी तथा सार्वजनिक स्थल वा कठिन परिस्थितिमा रहेका बेवारिसे भइ जीवन व्यतित गरिरहेका व्यक्तिहरूकाे आश्रमले उद्धार गरेकाे हाे ।
उद्धार गरिएका आश्रितहरूको स्वास्थ्य स्थिति र पारिवारिक पृष्ठभूमि पत्ता लगाइ १७ जनाको पारिवारिक पुनर्मिलन सफलतापूर्वक सम्पन्न भएको छ। यस क्रममा स्वास्थ्य लाभ गरिरहेका व्यक्तिहरूलाई सुरक्षित रूपमा परिवारकाे जिम्मा लगाइएकाे हाे ।
यस प्रकारको उद्धार र पुनर्मिलन कार्यक्रमले सडकआश्रितहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै आएको छ भने समाजमा मानवताको महत्त्वलाई पनि उजागर गर्दै आएको छ।
मानवसेवा आश्रमले आफ्ना लागि आफैं केही गर्न नसक्ने, असहाय वा कोही नभएका व्यक्तिहरूको उद्धार, जीवन रक्षा र पुनर्स्थापनाका लागि २०६९ भाद्र १३ गते मकवानपुरको हेटौँडाबाट सेवा शुभारम्भ गरेको हो। आश्रमले सरकारको आंशिक सहयोग र देश–विदेशमा बसोबास गर्ने दाताहरूको निरन्तर सहयोग तथा सद्भावबाट देशभर २९ वटा शाखा विस्तार गरी सहयोगापेक्षी व्यक्तिहरूलाई सेवा प्रदान गर्दै आएको छ।







