काठमाडौँ, ६ पुस : नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गरेका छन् । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गरेका हुन् ।
भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेलेका भूमिकाको प्रशंसा गरेका राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
तपाईंले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउन उल्लेखनीय भूमिका खेलेका छन्, बिदाइ भेटका सन्दर्भमा अध्यक्ष दाहालले भने, जहाँ रहे पनि तपाईलाई असल मित्रका रुपमा सम्झिनेछौँ ।
सन् २०२५ नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वर्ष भएका अवसरमा विभिन्न कार्यक्रम भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले त्यस्ता केही कार्यक्रममा आफू पनि सहभागी भएको जानकारी दिए ।
सो अवसरमा चिनियाँ राजदूत सोङले आफ्नो कार्यकालमा प्राप्त सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरे । उनले नेपाल चीनको एक असल छमेकी मित्रराष्ट्र रहेको र सदैव दुई देशले एकअर्काको संवेदनशीलता र चिन्तालाई गहिरोसँग आत्मसात गरेको बताए ।
राजदूत सोङले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आवश्यक सहयोग गर्न चीन तयार रहेको पनि बताए ।







