७ पुष २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

वालिङ स्याङ्जा, ६ पुसः यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन् ।

जाडो मौसममा कागती दानाको माग कम हुँदा बजारमा खपत हुन नसकेकाले बिग्रिन नदिनका लागि चुक बनाएको वालिङ–१४ स्थित न्यौपाने नर्सरी कृषि तथा पशुपालन फार्मका सञ्चालक प्रकाश न्यौपानेले बताए । व्यावसायिक रूपमा कागतीखेती गरेका न्यौपानेले झण्डै छ क्विन्टल कागतीको दाना बिक्री गरे । जाडो लागेसँगै बिक्री नभएको चार क्विन्टल कागतीबाट रस तथा चुक बनाए हो ।

कागतीको दाना बोटबाट दैनिक झर्न थाले, यता बजारमा खपत भएन, उनले भने, दाना कुहाएर फाल्नुभन्दा विकल्पका रूपमा लामो समयसम्म रहने भएकाले चुक र केही समयसम्म रहने भएकाले रसको रूपमा परिणत गरी बिक्री गर्न थालेको छु ।

कागतीको चुकको बजार माग राम्रो रहेकाले पनि वैकल्पिक विधि अपनाइएको हो । चुक प्रतिलिटर रु एक हजार ६०० का दरले बिक्री हुने गरेको छ । स्थानीय अगुवा किसान न्यौपानले जस्तै यस ठाउँमा रहेका अन्य किसानले पनि उत्पादन गरेका कृषिजन्य वस्तुले बजार नपाएपछि वैकल्पिक विधि अपनाएका छन् ।

वालिङ–१४ र भिरकोट नगरपालिका–९ का व्यावसायिक किसानले उत्पादन गरेको सागसब्जी, फलफूललगायत सामग्रीको आगामी दिनमा सहकारीमार्फत सामूहिक रूपमा बजारीकरण गर्ने तयारीमा स्थानीय रहेका छन् । मौसमी तथा बेमौसमी जातका सागसब्जी, सुन्तला, कागती, च्याउ, मह, अकबरे खुर्सानी, अदुवाको व्यावसायिक उत्पादन गर्दै आएका यहाँका किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले सहजै बजार नपाएपछि सहकारीमार्फत बजारीकरण गर्ने तयारीमा छन् । भौगोलिक र यातायातका दृष्टिले विकटमा रहेकाले पनि बजारीकरणमा समस्या भएको हो ।

वालिङ–१४ अमलडाँडाका व्यावसायिक कागतीखेती गर्ने किसान यामप्रसाद पौडेलले साउनदेखि यता झन्डै आठ टन कागतीको दाना बिक्री गरेको बताए । जाडो लागेसँगै कागती बिक्री हुन छाडेपछि एक टन जतिको पेलेर रस बनाएका छन । उनीसित अहिले पेलेको रस झन्डै पाँच सय लिटर छ ।

“गर्मीयाममा जस्तो जाडोमा कागतीका दाना बिक्री हुँदैन, उनले भने थोरै थोरै बिक्री हुन्छ, बाँकी रहेका कागतीलाई पेलेर रस निकाल्छु र त्यसलाई प्रशोधन गरेर लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।” बजारमा रस पनि खपत हुने गरेको छ । अहिले कागतीको माग पनि कम र बजार मूल्य कम पर्ने भएकाले भण्डारण गर्न सक्ने व्यवस्था हुने हो भने गर्मी लागेसँगै राम्रो मूल्य पर्ने उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि