काठमाडौं। गौतम बुद्ध क्रिकेट रंगशालाको विवाद थाँति राखेर कलाकार सिताराम कट्टेल धुर्मुस अमेरिका पुगेका छन् । छोरी सुविहानीको जटिल उपचारका लागि उनी केही दिनअघि स–परिवार अमेरिका गएका हुन् ।
धुर्मुसले सामाजिक सञ्जालमा रंगशाला निर्माणका क्रममा व्यहोरेका चुनौती र समस्या विस्तारपूर्वक उल्लेख गरेका छन्। उनका अनुसार, २०७२ सालको महाभूकम्पपश्चात सामाजिक सेवा एवं देश निर्माणमा योगदान गर्ने उद्देश्य लिएर उनी निरन्तर सामाजिक कार्यमा संलग्न थिए। तर रंगशाला निर्माणको क्रममा फाउन्डेसनमाथि आर्थिक र प्रशासनिक चुनौतीहरू सिर्जना भएका थिए।
उनले रंगशाला निर्माणका लागि उठाएका ६० करोड रुपैयाँ बराबरको सम्पत्ति राज्यलाई हस्तान्तरण गरेको पनि बताएका छन्। तर, भरतपुर महानगरपालिकासँगको सम्झौता अनुसार फाउन्डेसनमाथि १८ करोड ४३ लाख रुपैयाँ बक्यौता रहेको उल्लेख गर्दै, उक्त रकम अझै भुक्तानी हुन नसकेको प्रष्ट पारेका छन्। उनले लेखेका छन् सरकारी निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सहरी विकास मन्त्रालय लगायतबाट पटक–पटक मूल्यांकन र लेखापरीक्षण भए पनि वास्तविक भुक्तानी अझै पूरा भएको छैन।
धुर्मुसले रंगशाला निर्माणमा व्यक्तिगत स्वार्थ नभई सार्वजनिक हित र राष्ट्रिय गौरवको उद्देश्यले काम गरेको दाबी गरेका छन्। उनले यस विवादका कारण मानसिक तथा शारीरिक स्वास्थ्यमा असर परेको र आर्थिक दबाबले अस्थायी रूपमा नेपाल बाहिर जान वाध्य भएको स्पष्ट पारेका छन्।
साथै, उनले अमेरिकी भिसा मार्फत छोरीको उपचारका लागि त्यहाँ पुगेको र उपचार सकेपछि नेपाल फर्किने जानकारी दिएका छन्। उनका अनुसार, रंगशालासम्बन्धी समस्याको समाधान नभएसम्म उनी नेपालमा पूर्णरुपमा कलाकारितामा फर्केर काम गर्न सक्षम हुने अवस्था छैन।







