काठमाडौँ । यूकेस्थित क्रेनिङटन आमा समूहले मानवसेवा आश्रम बागलुङ शाखालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बागलुङ शाखाको सेवा व्यवस्थापनलाई अझ सुदृढ बनाउन समूहको प्रतिनिधित्व गर्दै नेपाल आउनुभएकी चन्द्रमाया थापा मार्फत सो रकम मंगलबार आश्रमलाई हस्तान्तरण गरिएको हो ।
सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रति समर्पणका साथ गरिएको यस सहयोगले आश्रमको सेवा कार्यमा थप ऊर्जा मिलेको आश्रमले जनाएको छ।
परदेशबाट पनि मानवताको सेवामा हात अगाडि बढाएको भन्दै समूहलाई आश्रम परिवारले आभार प्रकट गरेको छ। मानवसेवा आश्रमले देशभर २९ वटा शाखा विस्तार गरी सडकआश्रित, बेवारिसे र असहाय व्यक्तिहरूलाई निरन्तर सेवा प्रदान गर्दै आएको छ।
मानवसेवा आश्रमले वि.सं. २०६९ साल भाद्र १३ गते मकवानपुरकाे हेटौँडाबाट औपचारिक रूपमा सेवा सञ्चालन गरेको हो।







