काठमाडौँ, २४ मङ्सिरः दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको बडापत्रमा हस्ताक्षर गरेको ४०औँ वार्षिकोत्सव विशेष समारोहको आयोजना गरी मनाइएको छ ।
वार्षिकोत्सवका अवसरमा मङ्गलबार यहाँ आयोजित समारोहमा सार्कका महासचिव मोहम्मद गोलाम सरवारले शुभकामना व्यक्त गर्दै सार्कका विशिष्टिकृत निकाय र सार्कका क्षेत्रीय केन्द्रलगायत अन्तर सरकारी संयन्त्र बडापत्रका उद्देश्य साकार पार्ने उद्देश्यले आफ्नो कार्यदिशामा सक्रिय रुपमा लागिपरिरहेका उल्लेख गरे । यसका अतिरिक्त, सार्कका पर्यवेक्षक मुलुकहरु र विकास साझेदारहरुसँगको सहकार्यले पनि निरन्तरता प्राप्त गर्दै आएको उनले उल्लेख गरे ।
सार्क मानवताको एक चौथाइ हिस्सा बोकेको दक्षिण एशियाली क्षेत्रबीच सहकार्यको भावनालाई प्रतिबिम्वित गर्दै एकता र उत्थानशीलताको प्रतीकका रुपमा उदाएको छ”, महासचिव सरवारले भने, म विश्वस्त छु कि आगामी वर्षले हामीलाई हाम्रा साझा चुनौतीलाई सम्बोधन गर्दै प्रचुर सम्भावनाको सदुपयोग गर्ने उद्देश्यले आपसी सहकार्यका लागि थप अवसर प्रदान गर्नेछन् र एकीकृत र समृद्ध दक्षिण एसियाको हाम्रो सपना साकार पार्न सार्क हामी सबैको तर्फबाट काम गर्न अझ सशक्त हुनेछ ।
दक्षिण एसियाका जनताको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यअनुरुप उद्देश्यले अभिप्रेरित भई सार्कको तत्वावधानमा सञ्चालन गरिएका क्षेत्रीय सहयोग व्यापक र बृहत्तर रहेको बताउँदै महासचिव सरवारले गरिबी निवारण, अर्थिक र व्यापारिक विकास, कृषि, शिक्षा, विज्ञान र प्रविधि, ऊर्जा, संस्कृति, क्षेत्रीय सम्पर्क, पूर्वाधार विकासजस्ता क्षेत्रमा प्रयास केन्द्रित रहेको उल्लेख गरे ।
उनले भने, यसका अतिरिक्त, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन, आतङ्कवाद र लागुपदार्थको तस्करी, सुरक्षा, युवा, महिला र बालबालिको सशक्तीकरणजस्ता आमचुनौतीका विषयलाई पनि हामीले सम्बोधन गरेका छौँ ।
समारोहमा प्रमुख अतिथिका रुपमा उपराष्ट्रपति रामसहायप्रसाद यादव हुनुहुन्थ्यो । त्यसैगरी, समारोहमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च अधिकारी, सार्कका अधिकारी, परराष्ट्रविद्, सञ्चारकर्मीलगायत उपस्थित थिए ।
सार्कको स्थापना सन् १९८५ डिसेम्बर ८ तारिखमा बङ्गलादेशको ढाकामा सार्क चार्टरमा हस्ताक्षरसँगै भएको हो । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्र समावेश छन् । यस सङ्गठनको सचिवालय सन् १९८७ जनवरी १७ तारिखमा काठमाडौँमा स्थापना गरिएको हो ।
सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखको बैठक सार्कअन्तर्गतको सबैभन्दा उच्च निर्णय–निर्माण निकाय हो । शिखर बैठकहरू सामान्यतया दुई–दुई वर्षको अन्तरालमा आयोजित गरिन्छन् र वर्णानुक्रम अनुसार सदस्य राष्ट्रहरूले आयोजना गर्छन् । शिखर सम्मेलन आयोजना गर्ने सदस्य राष्ट्रले उक्त अवधिमा सङ्गठनको अध्यक्षता ग्रहण गर्छ । सार्कका हालसम्म १८ शिखर सम्मेलन भइसकेका छन् । सार्कको १८औँ शिखर सम्मेलन सन् २०१४ नोभेम्बर २६ र २७ मा काठमाडौँमा भएको थियो । त्यसयता सार्कको शिखर सम्मेलन हुन सकेको छैन ।







