धरान । धरान उपमहानगरपालिका–११ स्थित रमाइलो देउसी भैलो समूहले आफ्नो भैलोबाट संकलन गरेको रकम मानवसेवा आश्रमलाई सहयोग गरेको छ। सोमबार समूहले १५ हजार रुपैयाँ बराबरको भोजनसेवा र २२ हजार रुपैयाँ बराबरको ज्याकेट आश्रमलाई प्रदान गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका–१६ का वडाध्यक्ष मुरारी भट्टराई, विशिष्ट अतिथि राष्ट्रिय हास्य कलाकार फुलेन्दीकी आमा उमेश राई, कार्यक्रम संयोजक मञ्जु राई र रमाइलो समूहका सदस्यहरू उपस्थित थिए।
विशेष रूपमा, समूहका सदस्य निनामबुङ नाछिरिङ राईको जन्मदिनको अवसरमा भोजनसेवा प्रदान गरिएको थियो।
कार्यक्रममा कलाकार उमेश राईले आश्रमले गर्दै आएको मानवीय सेवाको प्रशंसा गर्दै, आश्रममा रहेका आश्रितहरूसँग दुःख–साटासाट गर्न पाएकोमा खुशी व्यक्त गरे। साथै, सबैलाई मानवसेवामा सहभागी भई सामाजिक र मानवीय कार्यमा योगदान दिन आग्रह समेत गरे।
असोज २९ गतेदेखि धरानमा आश्रमको २७ औँ शाखा सञ्चालनमा आएको छ। शाखा विस्तारपछि ताप्लेजुङ, ओखलढुङ्गा, पाँचथर, सोलुखुम्बु र सुनसरी जिल्लाका सहयोगापेक्षीहरुलाई उद्धार गरी सेवा प्रदान गरिएको छ। हाल यस शाखामा २५ जना आश्रित संरक्षणमा रहेका छन् भने २ जनाको सुखद पारिवारिक पुनर्मिलन पनि सम्पन्न भइसकेको छ।
मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र’ घोषणा गर्ने लक्ष्यसहित वि।सं। २०६९ साल भाद्र १३ गते हेटौँडाका मकवानपुरबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेको हो।







