झापा, १८ मङ्सिरः समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गरेका हुन् ।
पहिलो चरणमा यस वर्ष एक बिगाहा क्षेत्रफल जग्गामा नरिवलका ३०० बिरुवा लगाएको उनले बताए । बिरुवा रोपेको कम्तीमा नौ वर्षपछि नरिवलले फल दिन थाल्नेछ । जङ्गली हात्तीको उपद्रो बढेसँगै वैकल्पिक खेतीको रुपमा धान खेत मासेर चिया, तेजपत्ता, मरिच, सुपारी लगायतका विभिन्न खेती गर्दै आएका उनले पहिलो पटक नरिवलको व्यावसायिक खेती गरेका हुन् ।
बारीमा पहिल्यैदेखि छ वटा नरिवलका रुख हुर्किएर फल दिइरहेका थिए, उनी भन्छन्, एउटै बोटबाट वर्षेनी रु १७ हजारभन्दा बढी आम्दानी दिइरहेको छ, अब व्यावसायिक उत्पादनका लागि धेरै मात्रामा बिरुवा रोपेको छु ।
समुन्द्र सतहदेखि एक हजार मिटरसम्मको जमिनमा नरिवल खेती फस्टाउने कृषि विज्ञहरुको भनाइ छ । झापामा सयौं वर्षदेखि आफ्नो बारीमा थोरै मात्रामा नरिवल हुर्काउने चलन छ । तर, व्यावसायिक उत्पादनका दृष्टिले धेरै जग्गामा नरिवलखेती गर्ने उनी कोशी प्रदेशकै पहिलो कृषक हुन् ।
आगामी वर्ष ७०० नरिवलका बिरुवा लगाउने तयारी गरेको उनले बताए । नरिवलको फल नपाक्दै काँचैमा पनि बिक्री हुन्छ, उनले भने, बजारको कुनै समस्या छैन, उत्पादन गर्न सके बोटबाटै बिक्री हुन्छ ।
नेपालमा हाल काँचो नरिवलको समेत उच्च माग छ । नरिवलको रस स्वास्थ्यवर्धक भएकाले भारतबाट आयात गरेर नेपाली बजारमा यसको बिक्री हुँदै आएको छ । सुकेको नरिवलको फलको मूल्य झन् उच्च छ । काँचो नरिवल बोटबाटै रु ९० देखि रु १०० सम्ममा बिक्री हुने गरेको कृषकहरु बताउँछन् । त्यही नरिवल बजारमा व्यापारीहरुले रु २५० सम्ममा बिक्री गर्दै आएका छन् ।
सुपारी जोन झापाका पूर्व अध्यक्ष निलकण्ठ तिवारीले बहुउपयोगी गुण भएको नरिवल खेतीतर्फ किसान आकर्षित हुनु सुखद् खबर भएको बताए । उनले पानी नजम्ने प्रशस्त प्राङ्गरिक पदार्थ भएको खुकुलो माटोमा नरिवल राम्रोसँग फस्टाउने बताए ।
विगत तीन वर्षदेखि धुलाबारी चोकमा नविरल पानी बेच्दै आएका हरिदेव सरदारले स्थानीय उत्पादन नभएका कारण भारतबाटै काँचो नरिवल ल्याउने गरेको बताए । उनले दैनिक १०० देखि १५० सम्म नरिवलको रस बेच्दै आएका छन् । बोट रोपेको नौदेखि १० वर्षमा नरिवलले फल दिने बताइएको छ ।







