काठमाडौँ। मानवसेवा आश्रम रानीवन शाखाले बुधबार दुई जना बेवारिसे पुरुषको उद्धार गरी संरक्षणमा राखेको छ। नेपाल प्रहरीको रोहवरमा गोकणेश्वर क्षेत्रबाट सडकमा अलपत्र अवस्थामा भेटिएका, स्थायी ठेगाना नखुलेका ५३ वर्षीय बाबुराम गुरागाईँलाई आश्रमले उद्धार गरेको हो।
त्यसैगरी तादी गाउँपालिका–६, नुवाकोट घर बताउने ४५ वर्षीय वीरबहादुर तामाङलाई बालाजु चक्रपथ क्षेत्रमा मादक पदार्थ सेवनपछि बेवारिसे अवस्थामा फेला परेको सूचनाका आधारमा नगर प्रहरीको सहयोगमा उद्धार गरिएको आश्रमले जनाएको छ।
उद्धार गरिएका दुवै जनाको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी आवश्यक सेवा प्रदान गरिने तथा पारिवारिक पृष्ठभूमि पत्ता लागेपछि चाँडै पारिवारिक पुनर्मिलन गराइने मानवसेवा आश्रम रानीवन शाखाले जानकारी दिएको छ।







