काठमाडौँ । आज डिसेम्बर ३, विश्वभर ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदैछ। समानता, सम्मान र पहुँच सबैका लागि समावेशी समाज, भन्ने मूल सन्देशसहित मनाइने यो दिवसले अपांगता भएका व्यक्तिहरूको अधिकार, क्षमता र समाजप्रतिको योगदानलाई उजागर गर्दै सबैलाई जिम्मेवार बन्न आह्वान गर्छ।
मानवसेवा आश्रममा शारीरिक अपांगता भएका आश्रितहरू मात्र छैनन्, बौद्धिक अपांगता भएका व्यक्तिहरू पनि संरक्षणमा रहेका छन्। आश्रममा शारीरिक अपांगता भन्दा बौद्धिक अपांगता भएकाहरूको बाहुल्यता रहेको छ । उनीहरूको स्वास्थ्य, उपचार, पुनर्स्थापना र सम्मानजनक जीवनयापनका लागि आश्रमले नियमित रूपमा सेवा प्रदान गर्दै आइरहेको छ।
विशेषगरी आश्रमले शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूलाई रूद्राक्षको माला बनाउने, धूप बनाउने, साना हस्तकला सामग्री तयार पार्ने जस्ता सीपहरू सिकाएर जीवन बिताउने अवसर दिइरहेको छ। सीप सिकेपछि उनीहरूले आफ्नो क्षमता अनुसार आश्रमभित्र नै कार्य गर्न पाउने भएकाले उनीहरूको आत्मविश्वास मात्र बढ्दैन, पुनर्स्थापनाको मार्ग पनि सहज बन्छ।
संयुक्त राष्ट्रसंघले यो दिवस १९९२ देखि मनाउन थालेको हो। यसको उद्देश्य अपांगता भएका व्यक्तिहरूका जीवनमा विद्यमान संरचनात्मक अवरोधहरू पहिचान गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, पहुँचयुक्त संरचना र सामाजिक सहभागितामा उनीहरूको समान अधिकार सुनिश्चित गर्नु हो।
नेपालमा पनि लाखौँ शारीरिक तथा बौद्धिक अपांगता भएका नागरिकहरू छन्। सरकारले सामाजिक सुरक्षा भत्ता, पुनर्स्थापना केन्द्र, सीप विकास कार्यक्रम तथा पहुँचयुक्त सेवाका पहललाई अघि बढाइरहेको भए पनि धेरै नागरिक अझै संरक्षण, उपचार र सम्मानजनक जीवनबाट टाढा छन्।
यस्ता परिस्थितिमा मानवसेवा आश्रमले संरक्षण, हेरचाह, उपचार, सीप विकासदेखि पारिवारिक पुनर्मिलनसम्मका सेवा प्रदान गर्दै अपांगता भएका व्यक्तिहरूका लागि सुरक्षित र सम्मानजनक आश्रय बनिरहेको छ।
आजको अन्तर्राष्ट्रिय अपांगता दिवसले समाजलाई प्रत्येक अपांगता भएका व्यक्तिप्रति समान व्यवहार, करुणा र समझदारी प्रकट गर्दै समावेशी समाज निर्माणमा हातेमालो गर्न प्रेरित गर्दछ।







