भोजपुर, १६ मङ्सिरः भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध साइबर क्राइम सम्बन्धी सचेतना फैलाउने अभियान सुरु गरेको छ । गाउँपालिकाभित्रका छ वटा माध्यमिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो ।
प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ अभियान सुरु गरिएको पौवादुङमा गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताए । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मार्फत गाउँपालिकामा सचेतनाका कार्यक्रम सुरु भएको उनको भनाइ छ ।
विद्यालयस्तरमा सचेतना अभिवृद्धि गराउने उद्देश्यले यहाँका सबै माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए । हामीले माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर लैङ्गिक हिंसा तथा विद्युतीय अपराधबारे जानकारी दिइरहेका छौँ, उपाध्यक्ष राईले भने, अभियान मार्फत कुनै पनि किसिमको हिंसालाई रोकथाम गर्ने र विद्यार्थीलाई सुरक्षित बनाउनेतर्फ सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
अभियान मार्फत विद्यार्थीलाई लैङ्गिक हिंसाका रूप र प्रभाव, विद्यालय तथा समुदायमा देखिने सुक्ष्म हिंसाका अवस्था, अनलाइन ठगी, फेकआइडी र ‘ब्ल्याकमेलिङ लगायत विद्युतीय अपराधका जोखिम, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र कानुनी व्यवस्था लगायत विषयमा जानकारी दिने काम भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए ।
स्थानीय सबै विद्यालयमा चरणबद्ध रूपमा अभियान सञ्चालन भइरहेकाले विद्यार्थीस्तरमै सचेतनाको दायरा बढ्ने र भविष्यमा हुने सम्भावित हिंसात्मक घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले विश्वास व्यक्त गरे । विद्यार्थीका माध्यमबाट सबै परिवारसम्म विभिन्न किसिमका हिंसा सम्बन्धी सचेतना पुगोस् भन्ने लक्ष्यले अभियानका रूपमा कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।







