काठमाडौँ । कीर्तिपुरको मसानघाटमा नौ दिनदेखि बेवारिसे अवस्थामा बस्दै आएकी कुमारी छन्त्याल नाम बताउने अन्दाजी ५० वर्षीय महिलालाई आइतबार मानवसेवा आश्रमले उद्धार गरेको छ।
कीर्तिपुर नगरपालिका उप–प्रमुख शुभलक्ष्मी शाक्य, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरूको पहलमा गरिएको उद्धारपछि नगरपालिकाले ती महिलालाई उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाएको छ। शारीरिक तथा मानसिक रूपमा अत्यन्त कमजोर बनेकी महिलाको अवस्थाबारे स्थानीयले जानकारी गराएपछि आश्रमले उद्धार अघि सारेको हो।
स्थानीयका अनुसार केही समयअघि उनका छोराले लिन आउँछु, भन्दै बसपार्कमा छाडेर गएको कुरा उनले बताउँदै आएकी थिइन्। सुरुमा सामान्य रूपमा बोल्न सक्ने उनी मानसिक रूपमा विक्षिप्त बन्दै गएपछि ढलको पानी पिउन बाध्य भएकी र त्यसपछि स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको स्थानीयले बताएका छन्।
ढलको पानी सेवनका कारण पेटमा पानी भरिनु र शरीर सुन्निनेजस्ता गम्भीर लक्षण देखिएपछि आश्रमले तत्काल उद्धार गरी कीर्तिपुर नगरपालिकाले उपचारको जिम्मा लिने व्यवस्था मिलाउँदै कीर्तिपुर अस्पतालसँग समन्वय गरेको हो।
हाल ती महिलाको उपचार कीर्तिपुर अस्पतालमा जारी रहेको र अवस्था स्थिर हुँदै गएपछि परिवारका सदस्यहरूसँग सम्पर्क स्थापना गरी सकेपछि छिट्टै पारिवारिक पुनर्मिलन गराइने आश्रमले जनाएको छ।






