११ मंसिर २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

पुनर्मिलन अझै बाँकी : सडकबाट उद्धार भएका गोपाल तिमिल्सिनाको नयाँ जीवन

सडकआश्रित नागरिकहरूको उद्धार, उपचार, संरक्षण र पुनर्मिलनका लागि निरन्तर क्रियाशील मानवसेवा आश्रमले चार महिनाअघि उद्धार गरेको ४२ वर्षीय गोपाल तिमिल्सिनाको जीवनमा आज उल्लेखनीय परिवर्तन देखिएको छ। तर परिवारका सदस्यसँग अहिलेसम्म पनि सम्पर्क स्थापित हुन नसक्दा उनी घर फर्किन सकेका छैनन् भन्ने आश्रमले जनाएको छ।

गोपाल तिमिल्सिना अविवाहित हुन्। आमाको मृत्यु र बुबाको दोस्रो विवाहपछि उनी बसेको पारिवारिक वातावरण क्रमशः कमजोर हुँदै गयो। पछि बुबाको निधन भएपछि उनी सानीआमा र दुई भाइसँगै बसेर घर सम्हाल्ने काममा थिए। ट्रक चालकको रूपमा सामान्य जीवन बिताइरहे पनि साथीभाइको प्रभाव र जाँडरक्सीको लतले उनको जीवन ह्रास हुँदै गयो। रोजगारी र पारिवारिक सम्बन्ध दुवै पक्षबाट दबाब बढ्दै जाँदा उनी अन्ततः घरबारविहीन बन्न विवश भए।

कठिन जीवनबीच एकदिन मोटरसाइकलले ठक्कर दिएर भागेपछि उनको अवस्था झनै गम्भीर बन्यो। उपचार नपाउँदा शरीरमा चोट चिलचिलाउने, मानसिक तनाव बढ्ने र जीवनप्रति आशा हराउँदै जाँदा उनी स्वयम्भू क्षेत्रमा फोहोर फाल्ने नालाभित्र बस्न बाध्य बने। यिनै अवस्थामै मानवसेवा आश्रमको रात्रिकालीन सडकसेवा उद्धार टोलीले उनलाई अत्यन्त कमजोर, घाइते र मानसिक रूपमा थकित अवस्थामा भेटेर तत्काल उद्धार गरी आश्रमको रानीवन शाखामा पुर्‍यायो।

उद्धारपछि आश्रमले उनलाई चार महिनासम्म नियमित उपचार, पोषिलो आहार, आराम, स्नेह र मनोवैज्ञानिक परामर्श प्रदान गर्‍यो। निरन्तर हेरचाहको परिणामस्वरूप गोपालको मानसिक तथा शारीरिक दुवै अवस्था उल्लेखनीय रूपमा सुधारियो। हिँडडुल गर्न सक्ने, आफैंलाई सम्हाल्न सक्ने र सामान्य दिनचर्यामा फर्किन सक्ने भएपछि आश्रमले पारिवारिक पुनर्मिलनका लागि पहल पनि सुरु गर्‍यो।

तर दुर्भाग्यवश—अहिलेसम्म उनका परिवारका कुनै सदस्यसँग सम्पर्क स्थापित हुन सकेको छैन। परिवारको ठेगाना अज्ञात हुँदा चाहेर पनि उनी घर फर्किन सकेका छैनन्। यद्यपि घर फर्कने आशा भने अझै उस्तै छ।
“अब त एक्लै कति बस्नु ? यसपालि त बिहे गर्ने सोच छ,” गोपाल मुस्कुराउँदै भन्छन्, आफ्नो नयाँ जीवनप्रतिको उत्साह प्रकट गर्दै।

मानवसेवा आश्रमले गोपाल जस्तै असहाय, बेवारिसे र संकटग्रस्त अवस्थाका नागरिकलाई उद्धार, उपचार, संरक्षण र अन्ततः परिवार तथा समाजसँग पुनर्मिलन गराउने अभियान निरन्तर सञ्चालन गर्दै आएको छ। गोपाल तिमिल्सिनाको जीवनमा आएको यो सकारात्मक परिवर्तन त्यही मानवीय सेवाको अर्को प्रेरणादायी उदाहरण हो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि