२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार

पर्यटकको रोजाइमा बोराबाध

धरान सुनसरी, ११ मङ्सिरः यहाँको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको बोराबाध पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । नदी किनारको मनोरम दृश्य, सूर्यास्तको आकर्षक झल्को तथा क्याम्प फायर, रिसोर्ट, कफी सप’ र खाजा पसल थपिँदै गएपछि यहाँ दैनिक चहलपहलसमेत बढ्दै गएको छ ।

व्यवसायी बिकुल श्रेष्ठले केही वर्षअगाडिसम्म सुनसान रहने यो ठाउँमा हाल पर्यटकको चहलपहल बढ्दै गएको बताए । उनले यही मङ्सिर १ देखि क्याम्प फायरमा सञ्चालनमा ल्याएको र जसमा १० जना कामदार रहेका बताए । स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा मुख्य रोजाइमा पर्न गरेका श्रेष्ठले बताए ।

चार वर्ष विदेश बसेर स्वदेश फर्किएका श्रेष्ठले यसअघि दूध डेरी, सफारी सञ्चालन र ग्यारेज व्यवसाय सञ्चालन गर्नुभएको थियो, हाल सबै छोडेर पर्यटन प्रवर्द्धनका लागि क्याम्प फायर सुरु गरेको बताए । उनले भने, यहाँ पर्यटकको सङ्ख्या बढेकाले हाल व्यवसाय निकै राम्रो छ । राति बस्न चाहनेका लागि पनि व्यवस्था मिलाएका छौँ । प्रतिव्यक्ति रु एक हजारमा टेन्ट र सिरक–डस्नासहित सुविधा उपलब्ध छ ।

बोराबाध विशेषगरी सप्तकोशी नदीको वार्षिक कटान रोक्न बोरामा सिमेन्ट भरेर बनाइएको छ । यही बाँधका कारण यस स्थानलाई ‘बोराबाध’ नामले चिनिन थालिएको स्थानीय बताउँछन् । पहिले दुई–तीनवटा रूख मात्र रहेको, गर्मीमा फाटफुट मानिस आउने यस क्षेत्रमा हाल दैनिक धेरै मानिस आउन थालेका छन् । केही समयअघि यहाँ एकवटा चटपटे पसल मात्र थियो, हाल रिसोर्ट, क्याम्प फायर, खाजा पसल र कफी सप गरी आधा दर्जनभन्दा बढी व्यवसाय सञ्चालनमा छन् ।

स्थानीय भीषण राईका अनुसार दिउँसो र बिहानभन्दा सूर्य अस्ताउँदा यहाँ पर्यटकको अत्यधिक भीड लाग्छ । दैनिक दुई हजारदेखि दुई हजार ५०० पर्यटक यहाँ आउने गरेका छन् भने त्यो सङ्ख्या शनिबार पाँच हजारभन्दा बढी पुग्ने गरको छ । “पहिले सूर्य उदाउँदो हेर्न मानिसहरू इलामको श्रीअन्तु पुग्छन् भने भन्ने सुनेका थियौँ, हाल सूर्यास्त हेर्न बोराबाध आउने गर्छन् । सूर्य अस्ताउँदा कोशीमा उज्यालो पर्ने भएकाले तस्बिर र भिडियो खिच्नकै लागि भए पनि यहाँ पर्यटकको भीड लाग्ने गरेको छ, उनले भने ।

हाल सुनसरीका इटहरी, धरान, इनरुवा साथै मोरङ, झापा र विराटनगरका विभिन्न ठाउँबाट दैनिक रूपमा धेरैजसो पर्यटक आउने गरेका छन् । इटहरीबाट साथीहरूसहित घुम्न आएकी सरिता श्रेष्ठ भन्छन्, पहिले हामी बराहक्षेत्र घुम्न आउँदा चतरापुल र मन्दिरसम्म पुग्थ्यौँ, हाल बोराबाध मुख्य आकर्षण बनेको छ । साँझपख दिनभरिको भन्दा धेरै रमाइलो हुन्छ । सूर्यास्तमा कोशीमा फोकस पर्छ । फोटो खिच्नकै लागि भए पनि हप्तामा दुई–तीनपटक आउँछौँ ।

प्राकृतिक सौन्दर्य, सूर्यास्तको मनमोहक दृश्य, कोशी किनारको खुला भू–दृश्य, क्याम्प फायरको आकर्षण र स्थानीय खानाका कारण बोराबाध पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । यसले स्थानीयस्तरमा रोजगार, व्यवसाय वृद्धि र आयमा सकारात्मक प्रभाव पारिरहेकाले थप पूर्वाधार विकास गरी लाभ लिनुपर्ने स्थानीयको माग छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि