११ मंसिर २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रामबहादुर बुवाको जीवन : बिछोड, संघर्ष र आश्रमको भर

रानीवनको चिसो बिहानमा, मानवसेवा आश्रमको आँगनमा रामबहादुर श्रेष्ठ बुवा टोलाइरहनुहुन्छ। ६८ वर्षको जिन्दगी, जसले सुखका चम्किला रंगभन्दा पनि दुःखका गहिरा छायाहरू धेरै बोकेको छन्, उनी सुस्तरी सम्झन्छन्। यहाँ बसेको डेढ वर्ष बितिसक्यो। तर आश्रमसम्मको उनको यात्रा सहज थिएन—उनीले भोगेका पीडा, अपमान, असहायता र आसाविहीन क्षणहरूले बुनेको एक गहिरो कथा थियो त्यो।

कहिल्यै नथाक्ने हातहरूले वि।स २०६० सालदेखि कालिमाटीमा तरकारी बजारमा पसल थापेर जीवन चलाएका थिए उनले। बिहान ३ बजे उठेर कालीमाटीको भीडमा मिसिँदा जीवनमा आत्मविश्वास थियो, आयात(निर्यातका कुरा गर्थे, थाकेर घर फर्कँदा परिवारको न्यानो खोज्थे। त्यो समय उनी आफ्नै मेहनत र पसिनामा गर्व गर्थे। मनमा परिवार बसाउने बलियो भरोसा पनि थियो। मागी विवाह गरेर उनले जीवनको नयाँ अध्याय खोल्ने कोसिस गरे। विवाहपछि जीवन अझै सन्तुलित हुन्छ भन्ने आशा गरेका थिए। तर उनी भन्छन्—आइमाईको मन कहाँ बान्धिन्छ? कहिले कहाँ पुग्छ, थाहा नै भएन। अन्त्यमा हामी छुट्टियौँ। यति भन्दै बुवाको स्वर एकछिन हरायो।

समाजमा धेरैले भन्छन्, विवाहले घर बनाउँछ, परिवार बनाउँछ, स्थिरता दिन्छ। तर केहीका लागि विवाह नै जीवनको सबैभन्दा ठूलो भूल बनिदिन्छ, जसले पूरा संसार बिगारी दिन्छ। रामबहादुर बुवाकी २२ वर्षीया छोरी रस्मिता आज पनि आमासँगै छिन्, वर्षौँदेखि सम्पर्क छैन। एउटै तारमा बाँधिएको परिवार चुँडिएपछि बच्चामाथिको माया र जिम्मेवारी सधैंभरि बुवाले बोक्नुभयो, तर परिस्थितिले उनलाई सबैभन्दा टाढा पुर्‍याइदियो।

सम्बन्ध बिछोड हुँदै जाँदा उनको स्वास्थ्य पनि चुपचाप दुर्बल बन्दै गयो। सुगर, प्रेसर, निराशा, यी सबैले गर्दा कहिले मानिस चिन्न, कहिले पैसा सम्झन नसक्ने अवस्था आयो। तरकारी पसल राम्रो चल्थ्यो, तर स्वास्थ्य बिग्रन थालेपछि त्यो पनि धराशायी भयो। एक समयका उज्याला बिहानहरू धमिलो बन्दै गएका थिए। बुबाआमा पहिले नै बितेका थिए, दाजुभाइहरू आफ्नै परिवारमा व्यस्त भए ।

“परिवार भए पनि म एक्लो थिएँ, त्यो वाक्य सुन्दा भित्र कतै चस्स दुख्छ। किनकि उनको कथा मात्र होइन, समाजभरि यस्ता हजारौँ कथाहरू छरिँएका छन्, जहाँ परिवार हुँदाहुँदै पनि साथ’ हराइसकेको हुन्छ।

कसैको काँधमा टेकेर कहिल्यै बाँचिनँ भन्ने सोच राखिरहेका उनी केही साथीहरूका कारण केही समय टिके। साथीहरूले हात समाते, सम्झाए, बोकिदिए। तर उनी भन्छन्, अरूको काँधमा धेरै दिन भर पर्न सकिन्न। अन्तिममा जीवन आफैँ सम्हाल्नै पर्छ। यही अवस्थाबाट उनलाई आश्रमसम्म पुर्‍याउने मार्ग खुल्यो।

साथीहरूको सुझावमा एकदिन उनी मानवसेवा आश्रम रानीवन शाखामा फर्किए। पहिलो दिन अचम्म भयो—कसैले इज्जतले बसेर सुने, कसैले स्वास्थ्य अवस्था सोधे, कसैले पानी ल्याइदियो। यस्तो बिर्सिएको व्यवहार पाउँदा उनको मन वर्षौँपछि पग्लिएको जस्तै भयो। केही दिनमा नै उनी यहाँका बुबा–आमाहरू, स्वयंसेवक र कर्मचारीहरूसँग घुलमिल हुन थाले। नियमित उपचार, समयमै औषधि, स्याहार–सुसार र प्रेमपूर्ण व्यवहारले उनका शरीर मात्र होइन, मन पनि क्रमशः हलुका हुँदै गयो।

उनको सुगर–प्रेसर नियन्त्रणमा आउन थाल्यो। नसम्झिने बिर्सिने बानी घट्दो छ। उमेरले त आँखालाई कमजोर बनाउँछ, तर आश्रमले उनको मनमा नयाँ उज्यालो जगाइदियो। उनी भन्छन्, “अब कोही छैन आश्रम नै मेरो घर हो। सास अडिएसम्म यहीँ बस्छु। यो वाक्यमा विगतको पीडा र वर्तमानको स्वीकृति दुवै मिसिएको छ।

रामबहादुर बुवाले आफ्नो जीवनको अन्तिम अध्याय यहाँ लेख्ने निर्णय गरिसकेका छन्न , न त गुनासो छ, न उपेक्षा नै

उनको कथा सुन्दा लाग्छ, मानिसलाई जीउनका लागि धनभन्दा ठूलो ‘साथ’ चाहिन्छ, परिवारभन्दा ठूलो ‘सम्मान’ चाहिन्छ, र जीवनभन्दा ठूलो ‘अस्तित्व’ चाहिन्छ। ती सबै अब रामबहादुर बुवाले आश्रममा पाएका छन्।

यहाँको हावा–पानी, सहानुभूति, माया र उपचारले उनलाई फेरि एउटा शान्त जीवनतिर डोर्‍याएको छ। कहिलेकाहीँ नियतिले मानिसलाई त्यति टाढा लैजाँदैन जति ‘मानिसको व्यवहार’ ले लान्छस र कहिलेकाहीँ मानवीय मनले त्यति नजिक ल्याइदिन्छ, जति ‘रगतको सम्बन्ध’ ले ल्याउन नसक्ने।

रामबहादुर बुवाको यात्रा यो सत्यको ज्वलन्त प्रमाण हो। एक्लोपनाबाट आश्रयसम्म, बिछोडबाट स्नेहसम्म र बिसाउने ठाउँ नभएको जीवनबाट फेरि आशाको एउटा उज्यालोतिर—उनको कथा आज आश्रमको न्यानो आँगनमा शान्त तर स्थिर रूपमा जिउँदो छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि