काठमाडौँ, ५ मङ्सिरः जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण सुरु गरेको छ । आज राष्ट्रिय ट्रमा सेन्टरमा प्रदर्शनका घाइतेको चोटपटकको गम्भीरताअनुसार वर्गीकरण सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यथाशक्य घाइतेहरूको छिटो वर्गीकरण गरेर स्वास्थ्य मन्त्रालयमा सिफारिसका लागि पठाइने जानकारी गराए । उनले भने,हामी पारदर्शी ढङ्गले नै घाइतेको वर्गीकरण गर्छौं । सरकारको नीतिअनुसार हामीले काम गरिरहेका छौँ, यहीअनुसार घाइते भएका ७७ वटै जिल्लामा घाइतेको वर्गीकरण गरेरमा सरकारलाई सहज रूपमा विवरण प्राप्त हुनेछ ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अस्पतालमा उपचाररत घाइतेलाई अस्पताल पुगेर वर्गीकरण गर्ने र सिफारिस गरेर पठाउने जानकारी गराए । वर्गीकरण लागि आउन नसक्नेलाई अस्पतालले एम्बुलेन्सको व्यवस्था गरेर सहजीकरण गरेको छ । धेरै जना सम्पर्कमा आइसकेकाले सम्भवतः एक हप्ताभित्र परिचयपत्र वितरणको काम सक्छौँ ।
वर्गीकरणका लागि घाइते परिचयपत्र बोकेर करिब १०० जना घाइते जेनजी हरू ट्रमा सेन्टरमा पुगेका थिए ।
सरकारले जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ जारी गरिसकेको छ । घाइतेलाई अतिगम्भीर, गम्भीर, मध्यम र सामान्य घाइतेगरी चार प्रकारमा वर्गीकरण गर्ने भनिएको छ । घाइतेमध्ये चोटपटकका आधारमा अतिगम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटकका आधारमा छुट्याउने गरिएको छ । वर्गीकरणका आधारमा परिचयपत्र उपलब्ध गराई सोहीअनुसारको सुविधा उपलब्ध गराउने सरकारको नीति छ ।







