तनहुँ, ५ मङ्सिरः पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाट सम्मको ३४ किलोमिटर निर्माणा धीन बुद्धसिंह मार्गमा ४० प्रतिशत भौतिक प्रगति भएको छ ।
पूर्वाधार विकास कार्यालयकी इन्जिनियर सुष्मा पाण्डेका अनुसार व्यास–१ दमौली बसपार्कदेखि आँबु खैरेनी–५ घुमाउने घाटसम्मको ३४ किलोमिटर मध्ये चालु आर्थिक वर्षमा १० किलोमिटर पक्की बनाइने छ । एक किमी ढलान गरिने छ ।
हालसम्म ५०० मिटर ढलान भइसकेको छ । सडक दमौली बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुनेछ । सङ्घीय सरकारबाट बहुवर्षीय यो सडक निर्माणका लागि रु ३४ करोड २७ लाख ५४ हजार ५६१ विनियोजन भएको छ । वर्षाको पानी निकासका निम्ति नाला निर्माण, स्ट्रक्चर र सबग्रेडिङ लगायत काम जारी छ ।







