झापा, १ मङ्सिरः पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यतिबेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन ह्वात्तै बढेको छ ।
इलामको रोङ गाउँपालिका–६ सलकपुरको ९० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । जहाँ लटरम्म पाकेका सुन्तलाका दाना बोटबाटै टिपेर खान मात्र होइन, फोटो र भिडियो खिचेर टिकटक बनाउन आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्छ ।
सलकपुरका करिब ३० घरमा घरवास होमस्टे सञ्चालन छ । प्रत्येक हप्ताको शुक्रवार र शनिवार यहाँका सबै घरवासमा पर्यटक भरिभराउ हुने वडाध्यक्ष सत्यम राईले बताए । उहाँका अनुसार सो क्षेत्रमा दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक सुन्तला पछ्याउँदै आउने गरेका छन् ।
उनले सलकपुरको स्वादिलो सुन्तला बोटमै टिपेर खानका लागि इलाम, झापा, मोरङ, सुनसरीदेखिका आन्तरिक पर्यटक घरवासमा बास बस्न आउने गरेको जानकारी दिए । यहाँ छिमेकी मुलुक भारतको सिलगढी, दार्जीलिङ र कोलकातातिरका पर्यटकसमेत आउन थालेको उनले बताए ।
सिङ्गो वडा नै सुन्तला खेतीका लागि प्रसिद्ध छ । यहाँको सलकपुर, कुवापानी र जौबारी लगायतको क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ । विगत लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका मदन विमलीले बोटबाटै प्रतिकेजी रु १३० मा सुन्तला बिक्री गरिरहेको बताए।
उनका बारीमा यसवर्ष तीन वर्ष यताकै राम्रो सुन्तला फलेको छ । आठ रोपनीमा लगाएको सुन्तला खेतीबाट राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ । उहाँले यहाँ उत्पादित सुन्तलाको बजार झापा नै रहेको बताए । विगतमा सुन्तला बगानमै व्यापारीलाई गोलमोटोल मूल्य राखेर दिन्थ्यौँ, उनले भने, यसपाली आफैँ बिक्री गरिरहेका छौँ । व्यापारीलाई दियो भने आफूले टिप्नै मिल्दैन । यहाँ आउने पर्यटकले पनि टिपेर खान्छन्, पैसा पनि तिर्छन् ।
उनले हाल सम्ममा एक क्विन्टल सुन्तला बिक्री गरिसकेको र अझै बारीमा त्यति नै टिप्न बाँकी रहेको बताए । उनले यहाँ आएका पर्यटकलाई सुन्तला बारीमा पस्नका लागि नियम बनाइएको बताए । पर्यटकले फोटो, भिडियो खिच्न र टिकटक बनाउन सुन्तला बगान खुल्ला रहे तापनि जथाभावी टिप्न नपाइने उनको भनाइ छ ।
सलकपुरकै देवेन खड्काले १० रोपनी जमिनमा सुन्तलाको खेती गरेका छन् । उनले यहाँ सुन्तलाबारीमा रमाउन र सूर्योदयको अवलोकन गर्न पर्यटक आउने गरेको बताए । सलकपुरमै रहेको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा पनि यो स्थान पर्यटकको रोजाइमा परेको उनको भनाइ छ ।
विसं २००४ मा दार्जीलिङबाट आएर बसोवास गर्नुभएका गौरीलाल लामाले यहाँ सुन्तला खेती सुरु गरेका थिए । सुरुमा दार्जीलिङबाट विरुवा ल्याएर खेती सुरु गरे तापनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको विरुवा ल्याएर व्यावसायिक खेती भइरहेको उनले बताए । झापादेखिका व्यापारीले सुन्तला बोटमै खरिद गर्छन्, उहाँले भने, उत्पादनमा मात्र ध्यान दिए पुग्छ, बजारको समस्या छैन ।
सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महल गायतका कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा नेपालका बिभिन्न ठाउँबाट त्यसैको अध्ययनका लागि पनि पर्यटक आउने गरेको वडाध्यक्ष राईको भनाइ छ । यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा हुने सुन्तला महोत्सवसमेतमा प्रत्येक वर्ष प्रदर्शन र बिक्रीका लागि लैजाने गरिएको छ ।







