१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनका सहिदः छोरीलाई डाक्टर बनाउने सपना जेनजी आन्दोलनसँगै अन्त्य

गाईघाट उदयपुर, ३० कात्तिकः सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँका लागि छाडेर जानुपर्ने हुन्छ । जीवनमा कसको लेखान्तर कस्तो हुन्छ भन्ने कसैलाई थाहा छैन ।

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–३ बसाहास्थित आमसालमा जन्मी हुर्किएर कान्छी छोरीलाई डाक्टर बनाउने सपनासहित काठमाडाँैको कपनमा मजदुर काम गर्दै आएका सारकुमार राईको कान्छी छोरीलाई डाक्टर बनाउने सपना पनि गत भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर ढलेपछि सदाका लागि राईको सपना अन्त्य भएको छ । जीवनमा आफूले ठूलो प्रगति गर्न नसके पनि सन्तानलाई ठूलो मान्छे बनाउने उत्कट चाहना हरेक बाबुआमालाई हुने गर्दछ तर सबैका चाहना पूरा हुन सक्दैनन् । यही अधुरो चाहनामै जीवन गुमाउनुप¥यो सारकुमारले पनि ।

विसं २०५६ देखि २०५८ सम्म सर्लाही र चितवनतिर रोजगारी गर्दै हिँडेको स्व राईले २०५८ सालमा सर्लाही बरहथवाकी सुनिता मगरसँग भेट भएपछि दुवैको प्रेम विवाह भएको स्व राईका श्रीमती सुनिता बताउछन्। दुवैको जेठी छोरीका रुपमा २०६३ सालमा ठूली छोरी अनुसाको जन्म भएको र २०६८ सालमा कान्छी छोरी आकृतिको जन्म भएको स्व राईका श्रीमती सुनिता बताउछन् । दुवै छोरीको जन्म भए पनि दुःख र बेरोजगारीका कारण ठूली छोरीलाई कक्षा ८ भन्दाबढी पढाउन नसकिएको पनि सुनिता बताउछन् ।

सानैदेखि कान्छी छोरीको पढाइ राम्रो रहेका कारण पनि चितवनमा रोजगार गर्दै आएका सारकुमार राईले आफू काठमाडौँमा गएर रोजगारी गरेर भए पनि कान्छी छोरीलाई डाक्टर बनाउने भन्दै चितवनबाट काठमाडौँको कपनमा गएर घर रङरोगन गर्ने मजदुर काम गर्दै आएका थिए । गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा काम छाडेर जेनजी मजदुरहरु सहित सडकमा हिँडिरहेका राईलाई देब्रेपट्टिको कञ्चटबाट गोली लागेपछि दाँहिने त्यहीँ ढले ।

त्यस दिनको घटना स्मरण गर्दै सुनिता भन्छन्, तत्काल उनलाई फोन गरेँ उठेन, तर रातको ९ः०० बजे उनकै साथीले मलाई फोन गरेर दाई त गोली लागेर अस्पतालमा गम्भीर बिरामी छन् भनेपछि म त बेहोस भएछु । जीवनमा यस्तो घटना सुन्नुपर्ला भन्ने उनले कहिल्यै सोच्नु भएको थिएन । दुई दिनपछि चितवनबाट काठमाडौँ पुग्दा श्रीमान्को मृत्यु भइसकेको थियो ।

सुनिताका अनुसार श्रीमान्को मृत्युपश्चात् आफू उदयपुरको चौनपा–३ बसाहा फर्केर आएको र त्यसको १० दिनपछि श्रीमान्को शवलाई घरमा सेनाले काठमाडौँबाट ल्याइदिएका कारण घरको आफैँ कर्ता भएर किराँती राईको अन्तिम संस्कार गराए । कान्छी छोरी र आफू किरिया पुत्री बसेर काजकिरियासमेत सम्पन्न गरेको श्रीमती राई बताउछन् ।

स्व सारकुमार राईको दिदी कुमारी राईका अनुसार सारकुमार राईको घरपरिवारमा पाँच दाजुभाईमध्ये सारकुमार साइला छोरा रहेको र उनले गाउँको स्कुलमा सामान्य ६ कक्षासम्म मात्र अध्ययन गरेका थिए । विसं २०७२ मा आमा नेपी मायाको निधन भएको र २०८० सालमा बुबा गजब सिं राईको निधन भएको स्व राईका दिदी कुमारी बताउछन् ।

स्व राई सात वर्षदेखि काठमाडाँैको कपन क्षेत्रमा घरको रङ्गरोग गर्ने मजदुरका रुपमा काम गर्दै आएका थिए भने श्रीमती सुनिता चितवन भरतपुर महानगरपालिका–११ स्थित मनशिला बोर्डिङ स्कुलको होस्टेलमा काम गर्ने गर्छन् । उनले सोही स्कुलमा कान्छी छोरी आकृतिलाई पढाउँदै आउनु भएको छ । अहिले उनी कक्षा १० मा अध्ययनरत छिन् । सुनिताका अनुसार ठूली छोरी अनुसालाई पढाउन नसकिएका कारण हाल भारतको हिमाञ्चल प्रदेशमा आफ्ना दिदीसँग बस्दै आएकी छिन् । श्रीमती सुनीता श्रीमान्बारे यसो भन्छन्, चौदण्डीको बसाहामा सबै दाजुभाइको संयुक्त १५ कट्ठा सुक्खा बारी जग्गा रहेको र एउटा काठको घरसमेत रहेकामा हाल दाजुहरु र उनीहरुको परिवारहरु बस्दै आएका छन् ।

सुनिताका अनुसार श्रीमान्ले मजदुर गरेर नै बसाहामा एउटा घर पनि बनाउने र कान्छी छोरीलाई पनि डाक्टर पढाउने अठोट गरेर चितवनबाट आफूसहित छोरीलाई यहाँ राखेर काठमाडौँ गएका थिए । छोरीलाई डाक्टर पढाउनका लागि धेरै खर्च लाग्ने भनेर केही खर्च पनि जुटाउँदै कृषि विकास बैंकमा जम्मा गर्ने गरेको सुनिता बताउछन्। उनी भन्छन्, “श्रीमान् काठमाडौँमा हुँदा दुई–तीन महिनामा एकपटक भेट्न चितवन आइरहन्थे, हिजोआज त म एक्लै छु तर छोरीलाई हेरेर मन बुझाएर बसेकी छु ।

छोरी डाक्टर पढ्न थालेपछि मात्र श्रीमतीसहित बसाहा गएर घर बनाउने र बस्न भन्दै काठमाडौँबाट घर फर्कने अठोट लिएर काठमाडौँ कपनमा मजदुरी गर्दै आएका सारकुमार भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर सहिद हुन पुगे । श्रीमान्को अधुरो सपना आफूले पूरा गर्ने भन्दै श्रीमती सुनिता भन्छन्, श्रीमान्ले अधुरो छाडेर गएको सपना छोरीलाई डाक्टर बनाउने सपना मैले पूरा गर्ने अठोट लिएकी छु ।

सारकुमारलाई जेनजी सहिद घोषणा गरेपछि सरकारबाट सहयोग भएको रु १५ लाखमध्ये पाँच लाख श्रीमान्को काजकिरियामा खर्च भएको र र बाँकी १० लाख कृषि विकास बैंकमा जम्मा गरेर राखेको उनको भनाइ छ । श्रीमान्ले मजदुर गरेर कमाएको केही रकम पनि बैंकमा रहेको र पछि सोही खर्चबाट र सरकारले केही सहयोग गरे आफूले घर नबनाएर भए पनि छोरीलाई डाक्टर बनाएरै छाड्ने सुनिताको अठोट रहेको छ ।

स्व सारकुमारका छिमेकी चौनपा–३ बसाहाका रामबहादुर राईका अनुसार सारकुमार सानैदेखि सोझो र इमानदार र परिश्रमी रहेका थिए । घरमा धेरै भाइछोराहरु रहेको र आर्थिक कमजोर भएका कारण गाउँमा ६ कक्षासम्म मात्र अध्ययन गरेका सारकुमार मजदुरी गर्नकै लागि सर्लाहीबाट चितवन हुँदै काठमाडाँैको कपनमा काम गर्दै आएका थिए ।

आफू दुःखले पढ्न नपाए पनि कान्छी छोरीलाई डाक्टर बनाउने सपना बोकेका राईको गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा गोली लागेर सहिद हुन पुगेपछि उनको सपना अधुरै अन्त्य भएको बसाहा आमसालका कृपाराज राईले बताउछन् । उदयपुर बेलका नगरपालिका–४ का सन्तोष विक पनि जेजनी आन्दोलनका क्रममा राईसँगै गोली लागेर सहिद भएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि