६ फाल्गुन २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार

पकेट क्षेत्रमै सुन्तलाका बोट सुकेपछि

पर्वत, ३० कात्तिक : सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् ।  पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका यहाँका किसान अहिले वैकल्पिक खेती गर्न थालेका छन् । उनीहरूले सुन्तलाको विकल्पमा केरा, कफी, अम्बा, अदुवा, बेसार र कोदोखेती गर्न थालेका हुन् ।
कुनै समय जिल्लामै सबैभन्दा बढी पाँच सय बोट सुन्तला लगाएर मनग्गे कमाइ गर्ने स्थानीय ७३ वर्षीय टीकाराम जैसी अहिले सुन्तलाखेतीबाट विस्थापित ्भएका छन् । उनले अहिले मौरीपालन र अदुवा, बेसारखेती गरेका छन् । सुन्तला बगान अहिले सुकेका बोट र झाडीले भरिएको छ ।
सबै बोट सुकिसकेपछि उनले मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकलाई समस्या पत्ता लगाइदिन अनुरोध गरे । काठमाडौँसम्म लगेर परीक्षण गर्दा सिट्रस ग्रिनिङ’ रोगको जोखिम थाहा भएपछि उनले सुन्तलाखेती नै छाडेका हुन् ।
सात रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएकी सोही ठाउँकी डिलकुमारी तिमिल्सिनाले पनि अहिले सुन्तलाका बोट मासेर केरा, कोदो र अदुवाखेती लगाएको बताए । घरअगाडिको बगैँचाका सुन्तलाका सबै बोट मरेपछि अहिले सुन्तलाका दाउरा बनाइएको छ । लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका किसान विस्थापित बन्दै गइरहेको स्थानीय दाताराम चापागाईँले जानकारी दिए ।
विगत केही वर्षअघिसम्म वार्षिक रु पाँच करोडभन्दा बढीको सुन्तला बिक्री हुने यो गाउँमा अहिले मुस्किलले रु दुई करोडसम्म भित्रिने चापागाईँको अनुमान छ । लाखौँ लगानी गरेर सुन्तलाखेती गरिरहेका किसान चिन्तित बनेका उनले बताए ।
मोदी गाउँपालिकाको कृषि शाखा प्रमुख स्मृति तिमिल्सिनाले देउपुरको सुन्तला बगैँचामा अब अम्लीय जातका फलफूलको उत्पादन हुन नसक्ने बताउनुभयो । ‘क्यान्डीडट्स लिबेरीब्याक्टर एसिअटिकस नामक ब्याक्टेरियाले त्यहाँका बगैँचा सखाप पारिदिएको भन्दै उनले उक्त बगैँचामा वैकल्पिक खेती गर्नुको विकल्प नरहेको बताए।
पातहरूमा पहेँलो र हरियो भाग मिसिएको रङ देखिँदै फल सानो, बाङ्गो, स्वादमा गुणस्तर घट्दै जाने र बीउ असमान बन्दै जान थालेको भन्दै तिमिल्सिनाले क्रमशः कमजोर हुँदै गएर रुख मर्ने नै यसको समस्या रहेको बताए । सङ्क्रमित रुख तुरुन्त उखेल्ने र नष्ट गरेर त्यहाँको हावापानीअनुसारको खेती गर्नु नै उत्तम विकल्प हुने उनको सुझाव छ । कृषि शाखा प्रमुख तिमिल्सिनाले त्यो ठाउँमा अम्लीय जातका फलफूलको विकल्पका रूपमा केरा, कफी, कोदो, अदुवा, अम्बा, बेसार लगायतका खेती गर्न सकिने सुझाव दिएका छन् । यहाँका झण्डै एक सय ५० परिवार व्यावसायिक सुन्तलाखेती गर्दै आएका थिए । सुन्तलाखेतीमा समस्या आएपछि किसानको आकर्षण घट्दै गएको स्थानीय भूमिराज शर्माले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि