कञ्चनपुर, २८ कात्तिकः शुक्लाफाँटा नगरपालिका–१२ का ३५ वर्षीय श्रवण चौधरी स्नातकोत्तर तहसम्म अध्ययन गरेर व्यावसायिक कृषि कार्यमा लागेका छन् ।
चौधरी बिहान–साँझ खेत र पोखरीमा व्यस्त रहन्छन् । बिहान माछालाई चारो हाल्ने, पोखरीको व्यवस्थापनमा ध्यान दिने उनी दिउँसोपख भने अहिले मजदुरसँगै उखु रोप्ने कार्यमा जुट्ने गर्छन । विद्यालय पढ्ने समयदेखि नै कृषि व्यवसायमा रुचि राख्ने चौधरीले आजसम्म त्यो कार्यलाई निरन्तरता दिएका छन् । सुरुमा एउटा सानो पोखरीबाट सुरु गरिएको माछापालन अहिले पाँच वटा पोखरीमा परिणत भएको छ ।
दुई बिघा जग्गामा पाँच वटा पोखरी निर्माण गरी उनले कमन, रोहुँ, नैनी, ग्रास, भाकुर र सिल्भर जातका माछापालन गरेका छन् । उनका अनुसार पोखरीमा प्रत्येक वर्ष करिब २० क्विन्टल माछा उत्पादन हुने गर्छ । त्यसको बजार मूल्य रु सात लाखदेखि आठ लाख ५० हजार सम्म पुग्ने गरेको छ ।
दाना, मलखाद, औषधोपचार र मर्मतमा करिब रु तीन लाखदेखि चार लाख खर्च हुने हुँदा रु पाँच लाखदेखि छ लाखसम्म शुद्ध आम्दानी हुने गर्छ । पोखरीमा उत्पादित माछा व्यापारी घरमै आएर रु ३५० प्रतिकिलो थोकमा खरिद गरेर लैजाने गर्दछन् । उत्पादनको अधिकांश माछा कैलालीको अत्तरियामा बिक्री हुन्छ भने केही स्थानीय बजारमै खपत हुन्छ ।
आधुनिक माछापालन प्रविधि सिक्न चौधरीले मत्स्यविकास केन्द्र, गेटा कैलाली बाट तालिम लिएका छन् । माछापालन केबल पोखरीमा माछाका भुरा हालेर छाड्ने काम होइन”, उनी भन्छन्, यसमा पोखरी व्यवस्थापन, पानीको गुणस्तर, चारोको सन्तुलन र रोग नियन्त्रणलगायत कुराहरुको सन्तुलन मिलाउन सक्नुपर्छ ।
पढेर जागिर खानु सफलताको एकमात्र बाटो नभएको उनको भनाइ छ । उनले भने, पढेलेखेको मान्छेले सीप र ज्ञानको प्रयोग कृषिमा गरे देशमै बस्दै राम्रो कमाइ गर्न सक्छ, घरपरिवार र समाजले सुरूमै जागिर खान दबाब दिएका हुन्, त्यो दबावलाई बेवास्ता गर्दै कृषिलाई आफ्नो व्यवसाय र जीवनशैली बनाए ।
समाजले अहिले ‘उद्यमशील कृषक’का रूपमा सम्मान गर्न थालेकामा उनी गर्व गर्छन् । माछापालनसँगै चौधरीले पाँच बिघा जग्गामा उखुखेती पनि गरेका छन् । चौधरीले आफ्नो स्वामित्व जग्गा पाँच बिघा जति रहेको छ । त्यसमध्ये दुई बिघामा पोखरी बनाएर माछापालन छ भने दुई बिघा स्वामित्वको जग्गामा र बाँकी तीन बिघा जग्गा भाडामा लिएर उहाँले विसं २०६५ देखि उखुखेती गरेका छन् ।
पाँच बिघा जग्गामा गरिएको खेतीबाट वार्षिक रूपमा उहाँले रु २० लाखको उखु बिक्री गर्छन् । मजदुर, सिँचाइ, जोताइ, बीउ, मलखाद र ढुवानी खर्च कटाएर रु १५ लाखसम्म नाफा हुने उनले बताए । चिनी उद्योग खुलेपछि उखु बेच्न सहज भएको छ”, उनी भन्छन्, उद्योग नखुलेका बेला घरमै कोल्हुमा गुड उत्पादन गरेर बजार पठाउँथे । अहिले चिनी उद्योग सञ्चालना आएपछि उखु बेच्ने झन्झट भने नभएको उनको भनाइ छ ।
माछा र उखुखेतीबाट प्राप्त आम्दानीले चौधरीले बस्नका लागि गाउँमै पक्की घर निर्माण गरेका छन् । खेत जोत्नका लागि ट्रयाक्टर खरिद र कार किन्नेसम्मका सपना पूरा गरेका छन् । सबै लगानी कृषिबाटै सम्भव भएको हो, उनी भन्छन्, म अब अरूलाई पनि कृषि पेसामा आउन प्रेरित गर्न चाहन्छु ।
उखु र माछा मात्रै नभएर चौधरीले चैते धान र बर्खे धानखेती पनि गर्छन। हिउँदमा गहुँखेतीलाई पनि निरन्तरता दिँदै आएको उनी बताउछन् । यसबाट पनि उनले अतिरिक्त आम्दानी लिँदै आएका छन् । जागिर पाउनु वा विदेश जानुमात्र जीवन नभएको उल्लेख गर्दै उहाँले सीप प्रयोग गरेर स्वदेशमै सम्भावना खोज्न सकिने बताउछन्।







