काठमाडौँ, २७ कात्तिकः निर्देशक मिलन चाम्सको नयाँ चलचित्र सुम्निमा मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेका छन् । बेलायतका विभिन्न सहरमा पहिलो चरणको छायाङ्कन गरिएको उक्त चलचित्रको दोस्रो चरणको छायाङ्कन नेपालमा हुने निर्देशक चाम्सले बताए ।
उनले भने, नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ भन्ने सोच राखेर नै मैले प्रायः चलचित्रमा प्रतिभा भएका नव कलाकारलाई अवसर दिन्छु । यसपटक पनि बेलायतमा बसोबास गर्दै आएकी गुरुङले चलचित्रमा शीर्ष भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा उनको पात्रको नाम सुम्निमा हुने भएका चलचित्रको नाम पनि सोही राखिएको हो ।
निर्देशक चाम्सले सुम्निमा कुनै धर्म वा संस्कृतिसँग जोडिएको नभई विशुद्ध प्रेमकथामा तयार गरिएको चलचित्र रहेको बताए । उक्त चलचित्रमा नव अभिनेत्री गुरुङसँगै कुन्साङ बमजन, अनुपविक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बा लगायतका कलाकारले अभिनय गरेका छन् ।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको चलचित्र ‘सुम्निमा अन्तरराष्ट्रिय बजारलाई लक्षित गर्दै तयार हुने निर्देशक चाम्सले बताए ।
हामीले बजार विस्तार र वृद्धिलाई सोचेर चलचित्र बनाउनु पर्छ । बजार र दर्शक बढाउने गरी हामीले काम गरेमा मात्र आगामी दिन चलचित्र क्षेत्रका लागि सुनौला हुनेछन्, निर्देशक चाम्सले भने ।
यसअघि उनले निर्देशन गरेका चलचित्र ‘गोर्खा वारियरलाई बेलायतको एक चलचित्र भवनमा आइम्याक्स प्रविधिमा विशेष प्रदर्शन गरिएको थियो । नेपाली चलचित्रलाई ‘आइम्याक्स प्रविधिमा ढालेर प्रदर्शन गरिएको पहिलोपटक थियो ।
निर्देशक चाम्सले निर्देशन गरेका पछिल्लो चलचित्र अञ्जिला सफल भएको थियो । उक्त चलचित्र महिला फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर तयार गरिएको थियो ।







