६ फाल्गुन २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार

हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

ढोरपाटन बागलुङ, २६ कात्तिकः वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो ।
अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन् । पहिले गोठालाले रचन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकीपाटन पछिल्लो दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।
असारदेखि असोजसम्म बुकीपाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायतका क्षेत्रमा गोठलाको बाक्लो बसाइँ हुने गर्छ । गोठालाले गोठ बेसी झारेपछि बुकीपाटन सुनसान छ । चिसो बढेका कारण पर्यटकसमेत पुग्न सकेका छैनन् ।
समुन्द्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा पर्ने बुकीपाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनेको छ । वर्खायाममा बेसी क्षेत्रमा गर्मी हुने हुँदा शीतलता खोज्दै बुकीपाटन बढी चढ्ने तर अहिले चिसो बढेपछि बुकीपाटन जाने पर्यटक कम भएको ढोरपाटनका होटल व्यवसायी सन्देश थापाले बताए । असोजसम्म बुकीपाटन पुग्ने पर्यटकको सङ्ख्या धेरै भए पनि अहिले फाट्टफुट्ट मात्रै जाने गरेको उनको भनाइ छ ।
बुकीपाटन पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सक्ने हुँदा वर्खाको समयमा बढी पर्यटक बुकीपाटन उक्लिने थापा बताए । गोठाला वस्तुभाउ लिएर असोजमै बेसी झरेको उनको भनाइ छ । उनले भने, दुई वर्षदेखि त बुकीपाटनमा पर्यटकको आगमन व्यापक हुँदै गएको छ, पहिले गोठाला मात्रै बस्ने ठाउँमा अहिले टाढाटाढाबाट पर्यटक आउन थालेका छन् ।
नेपालको एक मात्र शिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र डोल्पाका पशुपालक किसानले वर्खाको समय चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका छन् । ढोरपाटन नगरपालिका–८ का तुलबहादुर सुनारले आफू सबैभन्दा अन्तिममा बेसी झरेको सुनाए। धेरै गोठालाहरुले भदौ अन्तिम सातादेखि नै गोठ झार्न सुरु गरेको भन्दै आफू असोज दोस्रो सातामा त्रै झरेको उनको भनाइ छ । आफूले गोठ झार्ने बेला नै बुकीपाटन सुनसान भएको भन्दै अहिले चिसोका कारण कोही पनि पुग्न नसक्ने सुनार बताउछन्।
यतिबेला त बुकीपाटनमा पानी जम्छ, धेरै चिसो हुन्छ, त्यहाँ गएर बस्न सकिदैन, गोठाला झरेपछि त्यो ठाउँ सुनसान भयो, अहिले कोही पनि छैनन् बुकीमा, बर्खामा पहिले–पहिले गोठाला मात्रै हुन्थ्यौैँ, अहिले त देश विदेशबाट घुम्न आउनेको भीड लाग्छ, सुनारले भने, अब गोठाला जेठ असार महिनामा मात्रै बुकी उक्लिन्छन्, त्यस बेलासम्म त्यो ठाउँ सुनसान हुन्छ ।
चिसो बढेपछि ढोरपाटन उपत्यकामा पनि पर्यटकको आगमन कम भएको छ । अब हिउँ परेपछि हिउँखेल्न आउनेको सङ्ख्या बढी हुने स्थानीय पवन घर्तीमगरले बताए। ढोरपाटनमा चिसो बढ्दै गएपछि स्थानीय पनि बोबाङ, अधिकारीचौर लगायतका ठाउँमा झर्ने उनको भनाइ छ ।
पहिले अधिकांश ढोरपाटन उपत्यकावासी घुम्ती बसाइँ गर्थे । हिउँदमा बेसी र वर्खामा ढोरपाटनमा बस्ने गर्थे । तर अहिले ढोरपाटनमै बस्नेको सङ्ख्या बढेको छ । सडकले जोडिएपछि विस्तारै विकासले गति लिँदा धेरै स्थानीयको रोजाइमा ढोरपाटन परेको घर्तीमगर बताउछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि