६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

आलेख :  महाकाली करिडोर :  योजनामा उत्साह, कार्यान्वयनमा निराशा

दोधारा चाँदनी कञ्चनपुर, २५ कात्तिक  : सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव,पक्रियागत अल्झन र सरकारी उदासिनताका कारण अधुरो र अलपत्र अवस्थामा पुगेको छ ।
सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमानामा रहेको पिल्लर नम्बर १ सम्म चार सय १३ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ । सडक निमार्णपछि सुदूरपश्चिमका करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्व पनि धेरै नै रहेको छ । साथै, धार्मिक हिसावले कैलाश मानसरोवर भ्रमणको सुविधा उपलव्ध हुने देखिन्छ । तर प्रक्रियागत अल्झन र बजेट अभावले योजनाले अपेक्षित गति लिन सकेको छैन । सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको महाकाली करिडोर निर्माणका लागि न्यून बजेट विनियोजन हुँदा निर्माणको काम ठप्प जस्तै भएको छ ।
चालु आर्थिक वर्षमा करिडोर निमार्णका लागि रु २२ करोड ९७ लाख मात्रै बजेट विनियोजन भएको महाकाली करीडोर सडक ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक० योजना कार्यालयका योजनाका सूचना अधिकारी रामचन्द्र जैशीले जानकारी दिए । उक्त बजेटले निर्माण व्यवसायीको समेत भुक्तानी गर्न सकिदैन । योजनाअन्तर्गत कार्यालयले डेढ अर्ब दायित्व भुक्तानी गर्नु पर्नेछ । उनले भने, चालु आर्थिक वर्षमा आएको बजेट न्यून छ, यसले नयाँ ठेक्का खोलेर काम गर्न सकिने अवस्था छैन । उनले यही गतिमा बजेट बजेट आए योजना सम्पन्न गर्न अझै वर्षौं लाग्ने बताए ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटरमध्ये अझै ५४ किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ । करिडोरअन्तर्गत डडेल्धुरामा करिब २७, बैतडीमा नौ र दार्चुलामा १८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । करिडोरको हालसम्म करिब ५ किलोमिटर सडक कालोपत्र गरिएको छ । विभिन्न स्थानमा कालोपत्रका लागि ठेक्का भएर काम चलिरहेको भए पनि बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन सकिने अवस्था नरहेको योजना कार्यालयले जनाएको छ ।
दार्चुलाको मालिकार्जुन र खलङ्गा–हिकिला खण्डमा कालोपत्रका लागि काम भइरहेको छ । योजना कार्यालयका अनुसार करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ किलोमिटर र दार्चुलामा एक सय २१ किलोमिटर सडक निमार्ण हुनेछ । यसमध्ये कञ्चनपुरमा ११ किलोमिटर ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किलोमिटर ट्रयाक खुलेको छ । त्यसैगरी बैतडीमा एक सय १४ किलोमिटर र दार्चुलामा ७७ किलोमिटर ट्रयाक खुलेको छ । तुसारापानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडक खण्डमा ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।
डडेल्धुराको सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेको छ । हाल योजनाले छ वटा प्याकेजमा गरी डडेल्धुरा र दार्चुलामा ३७ किमिमा सडक कालोपत्रको काम निमार्णधिन छ । करिडोरअन्र्तगत दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा १२ किलोमिटर र खलङ्गादेखि तुसारपानी खण्डमा १०÷१० किमि गरी दुई प्याकेजमा सडक कालोपत्रको काम निर्माणाधीन छ ।
आव २०६५÷६६ देखि सुरु भएको करिडोरको सुरुको कुल लागत अनुमान रु १८ अर्ब १६ करोडमा आव २०८०÷८१ सम्म पूरा गर्ने लक्ष्य रहेको थियो । तर बजेट अभाव, रुख कटानलगायतका प्रक्रियागत अल्झनले योजनाको लागत र समय लम्बिदै गएको छ ।
योजना सुरु हुँदा उत्साह, अहिले निराशा
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोक बहादुर थापा मगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइसरी यहाँ आए । त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उहाँमा उत्साह थियो । करिडोर यातायातको सुविधा मात्र नभइ अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावनाहरु खुल्ने अपेक्षा उनमा थियो ।
आफ्नै घर छेउबाट सडक निर्माण हुने भएपछि यहाँको यहाँका स्थानीयवासीमा आफूहरुको आर्थिक अवस्था फेरिने आशा पलाएको थियो । तर उक्त सडक निर्माण हुन्छ भनेको सुनेको पनि डेढ दशक भइसकेको छ । त्यो बेला सडक निर्माण हुन्छ भन्ने सुनेपछि धेरै खुशी भएका थियौँ, थापाले भने, एकातर्फ महेन्द्रनगर बजार सहज पहुँच हुने र सडक बनेपछि शिक्षा, स्वास्थ्य र व्यापार हुने ठूलो आशा थियो तर अहिले सम्म बनेन । उक्त क्षेत्रमा करिडोरको ट्रयाक खुलेको छ तर यात्रा गर्न सहज छैन । वर्षाद्को समयमा त उक्त सडक बन्द हुने गरेको उनको भनाइ छ ।
सडक नहुँदा बिरामीलाई बोकेर अस्पताल लग्नुपर्ने बाध्यता आउँछ गाउँमा न स्वास्थ्य संस्था छ न विद्यालय नै भने, हाम्रो मुख्य समस्या भनेकै सडक हो सडक नहुँदा निकै सास्ती खेप्नु परेको छ । उनले दुई घण्टा पैदल विद्यालय जानुपर्ने बाध्यताले नातिनिलाई कैललीको लम्कीस्थित भाइको घरमा अध्ययनका लागि पठाएको बताए । अहिले पनि स्थानीय उत्पादन बिक्रि गरेर आम्दानी गरिरहेको बताउँदै सडक सञ्जालले जोडिए यहाँका स्थानीयको आर्थिक सुधार हुने उनको भनाई थियो ।
बाइस वर्षदेखि यहाँको टँुडिखेलमा बस्दै आएका लीला पुनमगर पनि करिडोर निर्माण हुने खबरले उत्साही भए । तर सडक निर्माणमा ढिलाइ हुँदा भने उनको उत्साह पनि निराशामा परिणत भएको छ । करिडोर बन्छ भन्ने सुनेको १२ वर्षपछि ट्र्याक खुलेको छ अझै आशा मरेको छैन तर सडक बनिसक्नु पर्ने समयसम्म पनि नबन्दा सुरुको जस्तो उत्साह छैन । उनले भने– सरकारले ढिलाइ गर्नु भएन, यो सडकलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्छ । उनले सडक निमार्णपछि लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने बताए ।
महाकाली करिडोरले यातायातको पहुँचसँगै भारतसँगको व्यापारिक पहुँच, घरेलु उद्योगको विस्तार र पर्यटन सम्भावनामा ठूलो भूमिका खेल्नसक्ने यहाँका स्थानीय रमेश नायक बताउछन् । यो सडक यातायातका लागि मात्रै नभई व्यापारिक हिसाबले महत्वपूर्ण छ”, उनले भने, सरकारको पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणलाई पूर्णता दिनुपर्छ ।
उनले करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थामा सुधार आउने बताए । करिडोर सञ्चालनमा आइदिए यहाँका स्थानीयले आठ÷आठ घण्टा लगाएर जानुपर्ने ठाउँमा दुई घण्टामै पुग्छौँ । उनले भने, यो सुदूर पहाडका जनताका लागि लाइफ लाइन नै हो । करिडोर बनेपछि ब्रह्मदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पञ्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक सांस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पु¥याउनेछ । महाकाली करिडोर बने मात्रै सुदूरपश्चिमको विकासको ढोका खुल्छ कञ्चनपुरका होटेल व्यवसायी जगदीशचन्द्र भट्टले भने, यसले धार्मीक पर्यटनलाई समेत फाइदा पुग्छ, अर्कोतर्फ उत्तरतर्फ चीनसँग पनि व्यापारको ढोका खुल्छ ।
महाकाली करिडोरअन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरासुन्दरी, मेलौली भगवती र निङ्लाशैनी जस्ता प्रसिद्ध धार्मिकस्थलहरु छन् । त्यसैगरी दार्चुलामा राष्ट्रकै चौथो धामका रुपमा परिचित मालिकार्जुन धामजस्ता प्रसिद्ध धार्मिकस्थल रहेकाले करिडोरले धार्मिक पर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ । भारतको पूर्णागिरि दर्शन गरेपछि महेन्द्रनगरमा रहेको सिद्धवैजनाथ दर्शन गर्नुपर्ने धार्मिक मान्यता छ उनले भने, ती दर्शनार्थी करिडोर सञ्चालनमा आए डडेल्धुराको परशुरामधाम पुग्न सक्छन् । उनले अझै पनि भारतबाट यहाँका प्रसिद्ध धामहरुमा भारतीय धार्मिक पर्यटन आउने गरेको बताउँदै यहाँ धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताए ।
महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा यहाँका व्यवसायी आशावादी छन् । हालसम्म छिमेकी मुलकसंग व्यापारिक नाका नभएका कारण महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक हब बन्ने अपेक्षा व्यवसायीको छ । अहिलेसम्म भारत संगको सहज कनेक्टिभिटि नहुदा सुदूरपश्चिमले आर्थिक लाभ लिन सकेको छैन, यहाँका व्यवसायी नरेश विष्टले भने, न्यून आर्थिक गतिविधि रहेको सुदूरपश्चिममा करिडोर बनेपछि आर्थिक गतिविधि बढ्छन् । करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थामा उलेख्य सुधार हुने उनले बताए। करिडोर निर्माणपछि यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा टेवा पुग्नेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि