कञ्चनपुर, २३ कात्तिकः कृष्णपुर नगरपालिका–३, देखतभूलीस्थित नन्द माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई मुख्य एजेण्डा बनाएर नमुना विद्यालयका रूपमा स्थापित गर्ने अभियान अघि बढाएको छ ।
विद्यालयले ‘हामी बनाउँछौँ विद्यालय’ भन्ने नारासहित शिक्षक, विद्यार्थी र समुदाय सबैलाई सहभागी गराउँदै सकारात्मक रूपान्तरणको नमुना प्रस्तुत गरेको छ । विद्यालयले हालै लागू गरेको ४० बुँदे आचारसंहिताले शिक्षण वातावरणमा उल्लेखनीय सुधार ल्याएको छ । शिक्षक र विद्यार्थी दुवैका लागि अनुशासन, समयपालन र पोशाक अनिवार्य गरिएको छ ।
प्रधानाध्यापक भुवन पन्तका अनुसार ढिलो आउने शिक्षक वा विद्यार्थीलाई स्पष्टीकरण सोधिने, बाहिरी व्यक्तिको प्रवेशमा पालेद्वारा नियन्त्रण, मोबाइल फोन प्रयोगमा प्रतिबन्ध र दुई दिनभन्दा बढी अनुपस्थित विद्यार्थीका अभिभावकलाई जानकारी दिने प्रणालीले विद्यालयमा उत्तरदायी संस्कार स्थापित गरेको छ ।
शैक्षिक गुणस्तर सुधारमा विद्यालयले प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ । प्रत्येक कक्षामा स्मार्ट बोर्ड र एलसिडी बोर्ड जडान गरिएको छ । साथै ‘एक शिक्षक, एक ल्यापटप’ अभियानमार्फत सबै शिक्षकलाई डिजिटल माध्यममा पढाउने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खत्रीले बताए ।
विद्यालयमा जडान गरिएका २५ वटा सिसीटिभी क्यामेराले सुरक्षा र अनुशासन दुवै सुनिश्चित गरेको छ । विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब सञ्चालनमा छन् । कक्षा ८ देखि १० सम्मका विद्यार्थीका लागि कम्प्युटर शिक्षा अनिवार्य विषयका रूपमा लागू गरिएको छ ।
विद्यालयमा ३२ शिक्षक तथा कर्मचारी कार्यरत छन् । जसमा आठ निजी स्रोतबाट नियुक्त छन् । ती शिक्षकको तलब विद्यालयकै चार बिघा जग्गा भाडामा दिएर प्राप्त हुने आम्दानीबाट व्यवस्थापन गरिएको छ ।
त्यस्तै, विद्यालयको जग्गा खानेपानी आयोजनाका लागि उपलब्ध गराइएको छ । त्यसबाट प्राप्त महसुलको ५० प्रतिशत रकम विद्यालयमा जम्मा हुन्छ । यसले विद्यालयलाई आर्थिक स्वावलम्बन र स्रोत परिचालनमा आत्मनिर्भर बनाएको छ ।
तीन वर्षअघि करिब २५० विद्यार्थी रहेको विद्यालयमा हाल विद्यार्थी सङ्ख्या एक हजार बढिरहेकोे छ । विद्यालयका अनुसार पछिल्ला वर्षमा एसइई नतिजा र कक्षा ११–१२ भर्ना दुवै उत्साहजनक छन् । हाम्रो लक्ष्य अब ८० प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा उत्कृष्ट बनाउने हो, अध्यक्ष खत्रीले भने, कमजोर विद्यार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्दैछौँ ।
पुराना पाँच विद्यालय भए पनि विद्यार्थी सङ्ख्या अधिक हुँदा समस्या हुने गरेको थियो । विद्यालयमा तीन नयाँ भवन निर्माणसँगै पठनपाठन सहज भएको छ । विद्यालयमा खानेपानी, शौचालय, फर्निचर, विज्ञान प्रयोगशाला र पुस्तकालयको पर्याप्त व्यवस्था गरिएको छ । विद्यालय परिसरमा इको–पार्क र खेलमैदान निर्माणको योजना अघि बढाइएको छ ।
नगर प्रमुख हेमराज ओझाको पहलमा विद्यालय परिसरमा माटो भरान कार्य सम्पन्न गरिएको छ । त्यसले वर्षाको समयमा हुने जलमग्नताको समस्या समाधान गरेको छ । वडाध्यक्ष खेम चौधरीका अनुसार वडा कार्यालयले पूर्वाधार र गुणस्तर सुधारका लागि सहयोग गर्दै आएको छ ।
विसं २०४८ मा स्थापना भएको विद्यालय अहिले कृष्णपुर, लालझाडी र शुक्लाफाँटा नगरक्षेत्रका विद्यार्थीका लागि प्रमुख सामुदायिक शिक्षालयका रूपमा विकसित हुँदै गएको छ । भौगोलिक विकटता र यातायातको समस्या समाधानका लागि नगरपालिकाले विद्यालयलाई बस उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
विद्यालयको प्रगतिमा स्थानीय तह, शिक्षक, अभिभावक र विद्यार्थीबीचको साझेदारी र प्रतिबद्धता मुख्य कारक बनेको छ । यी सुधारका पहलले विद्यालयलाई केबल अनुशासन र प्रविधिमा मात्र होइन, शिक्षाको गुणस्तर, उत्तरदायित्व र आत्मनिर्भरताका दृष्टिले पनि नमुना विद्यालयको दिशामा अघि बढाएको छ ।







