काठमाडौँ, २३ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने धारणा व्यक्त गरेका छन् ।
आज प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा सञ्चारग्राममा आयोजना गरेको ‘संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रममा मन्त्री खरेलले दुःखमा समेत खुसी हुनुसक्नु नै सबै भन्दा ठूलो सुख भएको बताए । उनले भने, दुःख जीवनभर रहन्छ, तर सुख क्षणभरको हुन्छ । त्यसैले दुःखमा समेत खुसी हुनसक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । मनमा शान्ति र खुसी हुनु नै जीवनको सुख हो ।
उनले जीवनमा आउने कठिनाइ र चुनौतीलाई नकारात्मक दृष्टिले नभइ आत्मसन्तुष्टि र सकारात्मक सोचसहित स्वीकार गर्न सके मानसिक शान्ति दीर्घकालीन रूपमा कायम रहने विश्वास व्यक्त गरे ।
मन्त्री खरेलले आफू लामो समयसम्म पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै अहिले मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव सुनाउनु हुँदै सरकारको जिम्मेवारीमा पुगेपछि पुराना साथीहरूसँगको सम्बन्ध घटेको र कामको चापका कारण तनाव बढेको बताए ।
कार्यक्रममा जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले वर्तमान समयमा नेपालमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्याप्रति चिन्ता व्यक्त गरे । उनले आत्महत्या र मानसिक तनावका घटना बढ्नुको कारण मानिसले आफ्नोभित्रको खुसी खोज्न नसक्नु रहेको बताए । उनले भने, खुसी कुनै बाहिरी तत्व होइन, त्यो हाम्रो मनभित्र लुकेको छ । आफूभित्रको खुसीलाई कसरी उजागर गर्ने भन्ने कुरा बुझ्न जरुरी छ ।
शर्माका अनुसार ‘जीवन विज्ञान जस्तो अभ्यासले व्यक्तिलाई आत्मअनुभूति, ध्यान र आत्मचिन्तनतर्फ प्रेरित गर्छ, जसले मानसिक सन्तुलन कायम गर्न र आत्महत्या घटाउन ठूलो भूमिका खेल्छ ।
प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीले जीवनको सबैभन्दा महत्वपूर्ण पाटो खुसी र सन्तोष रहेको उल्लेख गर्दै प्रत्येक व्यक्तिले आफूभित्रको खुसी महसुस गर्न सिक्नुपर्नेमा जोड दिए। उनले भने, खुसी महसुस गर्न सक्ने मानिस नै वास्तवमै समृद्ध हुन्छ । त्यसैले हामी सबैले खुसी र शान्तिको चेतनालाई जीवनमा उतार्नुपर्छ ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि, जीवन विज्ञानका अभ्यासकर्ताको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।







