पर्वत, १९ कात्तिकः उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको ।
बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उनको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लाग्नुभएका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित छन् । यसअघि उनले कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा कहलिएका तिमिल्सिना सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित भएका हुन् ।
तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि मौरीपालनतर्फ आकर्षित भएका छन् । सुरुमा उनले मौरीपाल्न थाले । जब माहुरीको घार र महको माग बढ्न थाल्यो, उनले आफ्नो व्यवसायलाई विस्तार गर्दै लागेका हुन ।
पहाडी भेगमा अनुकूल हुने एपी सेरेना जातको मौरी पाल्नुभएका तिमिल्सिना यो व्यावसायवाट गतिलो कमाइ गर्न सफल भएको बताउनुहुन्छ । तिमिल्सिना भन्छन्, यहाँ उत्पादन गरेको मह घरबाट नै बिक्री हुने गरेको छ । गुणस्तरीय मह भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । माग अनुसार ग्राहकलाई पुर्याउन सकिरहेको छैन ।
विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा गत वर्षमात्र उनले एक सयभन्दा बढी माहुरीका घार बिक्री गरेका थिए ।
बगैँचामा अहिले ३५ वटा घारको स्याहार उहाँले गर्नुहुन्छ । घारको सङ्ख्या धेरै भए पनि गत बर्खामा घरको आँगनसम्मै आएको केरुङ्गाको विशाल पहिरोले केही घार बगायो । केही अरिङ्गाल चराले नष्ट गरे । गत वर्षमात्र ६० मध्ये ४० घार अरिङ्गालले खाइदिएको उनले बताए।
अहिले वर्षमा दुई सय किलो जति मह उत्पादन हुन्छ । मह प्रतिकिलोको रु एक हजार ५०० मा बिक्री हुन्छ । गाउँले सहित पालिका र जिल्लाका विभिन्न कार्यालयका कर्मचारी महका ग्राहक हुन् । केही वर्ष अगाडि मौरीपालनबाटै वार्षिक रु १५ लाखसम्म कमाउनुभएका उहाँको आम्दानी भने पहिलेको जस्तो छैन । जलवायु परिवर्तन, शत्रु जीव र कीराको आक्रमण, जग्गा बाँझो रहनु लगायत कारण मौरीपालनमा कठिनाइ भएको तिमिल्सिनाको अनुभव छ । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन थालेका उनी जिल्लाकै नमूना मौरीपालक किसान हुन् । उनले उत्पादन गरेको मह धेरै मात्रामा घरबाट नै बिक्री हुने गरेको छभने काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्राण्ड बनिसकेको छ । कुश्माबजार, बागलुङ, क्षेत्रबाट पनि व्यावसायी घरमा नै आएर मह लैजाने गरेका छन् । मौरी सहितका घार प्रतिगोटा रु १० हजार र मह प्रतिकिलो रु एक हजार ५०० मा बिक्री गर्दै आएको उनले बताए ।
मौरीपालनमा अन्य पेसा व्यवसायजस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने भएकाले सागसब्जीखेती, पशुपन्छी तथा कुखुरापालनमाजस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताए । उनका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरी सहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।







