१७ कार्तिक २०८२, सोमबार
कोशी मुख्‍य समाचार समाचार समाज

नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

धरान सुनसरी, १६ कात्तिकः इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उनले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा पशुपति नर्सरी स्थापना गरे । सुरुआतमा करिब रु दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले रु एक करोडभन्दा बढी लगानीमा रुपान्तरण भएको छ । यही नर्सरीबाट वार्षिक रु ३५ लाखदेखि रु ४० लाखसम्म आम्दानी हुने गरेको अधिकारी बताउछन् ।

अधिकारीका हजुरबुबा र बुबाले फूल तथा बिरुवाको व्यवसाय सुरु गर्नुभएको थियो । हजुरबुबाबाट प्रेरित भएर उनका बुबाले सुपारीको बिरुवा उत्पादन सुरु गर्नुभयो । अधिकारीले भने, बुबा सुपारीका बिरुवादेखि विभिन्न प्रजातिका फूल र फलफूलका बिरुवा उत्पादन गरेर बिक्रीका लागि वीरगञ्ज, बुटवल, नारायणगढसम्म पुग्थे।

सानो उमेरमा बुबासँगै बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र फूल रोप्ने काम अधिकारीका लागि खेलभन्दा पनि बढी खुसीको विषय थियो । उहाँ सम्झनुहुन्छ, बुबा बिरुवा रोप्थे, म त्यसमा पानी हाल्थेँ । त्यसैमा सन्तोष मिल्थ्यो, त्यही कामप्रति मोह र लगाव बढ्दै जाँदा पछि यहीँ पेसा रोजे । फूल र बिरुवासँगको सम्बन्ध मेरो आत्मासँग गाँसिएको छ ।

केही समयअघि मात्र क्यानाडा पुग्नुभएका अधिकारीलाई त्यहाँको आधुनिक जीवनशैलीले लोभ्याए पनि मन भने सधैँ नेपालमै थियो । उनलाई अरूको देशमा गएर दुःख गरे आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय गर्नु गर्वको कुरा लाग्यो । दुई वर्ष नबित्दै स्वदेश फर्किएर अधिकारी अहिले इटहरीमा तीन नर्सरी शाखा स्थापना गरी सञ्चालन गरिरहनुभएको छ ।

हाल अधिकारीको नर्सरीमा सात युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । देशमै बस्न पाउनु, यहीँ आम्दानी हुनु र अरूलाई पनि रोजगारी दिन सक्नु साँच्चिकै सन्तोषको कुरा रहेछ, अधिकारी भन्छन् ।

पशुपति नर्सरीमा अहिले २५ सयभन्दा बढी प्रजातिका बिरुवा छन् । मनिप्लान्ट, टर्मिनेलिया, चाइनादल, भियतनामी नरिवल, थाइकिङ जामुन, अम्बक, सुपारी लगायत विदेशी बिरुवादेखि सिजनल फूल र फलफूलका विभिन्न प्रजातिका बिरुवा यहाँ पाइन्छन् । केही बिरुवा कोलकाता, मुम्बई, काठमाडौँ र चीनबाट आयात हुने र केही यही आफैँले उत्पादन गर्ने गरेको अधिकारीले बताए।

नरिवल र सुपारीका बिरुवाको माग अत्यधिक छ, उनले भने । अधिकारीले सञ्चालन गरे नर्सरी अहिले इटहरीकै आकर्षण बनेको छ । यहाँ आउने जोकोही बिरुवाको विविधता र सुन्दरता देखेर मोहित हुन्छन् । धेरै व्यक्ति किनमेलसँगै घुम्न, फोटो खिच्न र फूलबारीमा रमाउनका लागि आउने गरेका उनको भनाइ छ ।

अधिकारीका अनुसार अहिले धेरै जसो टिकटक, युटयुब, गुगल लगायत अनलाइन माध्यममार्फत माग आउने गरेको छ । हामीले देशभर डेलिभरी गर्ने गरेका छौँ । देशमा सम्भावना छैन भनेर विदेशिने युवाका लागि धेरै सम्भावना नेपालमै छ । लगन, मेहेनत र विश्वास भए पर्याप्त आम्दानी गर्न सकिन्छ । फूल र बिरुवाले मलाई आर्थिकमात्र होइन, आत्मिक सन्तुष्टि पनि दिएको छ, उनले भने ।

पुख्र्यौली पेसालाई निरन्तरता दिँदै परदेशको मोह त्यागी आफ्नै माटोमा आत्मनिर्भर बनेका अधिकारीजस्ता युवा उद्यमीले देशभित्रै रोजगारी र समृद्धिको बाटो सम्भव छ भन्ने प्रमाणित गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि