काठमाडौँ — आसन्न महाधिवेशनको कार्यतालिका तय गर्ने उद्देश्यले बसेको नेपाली कांग्रेस पदाधिकारी बैठक कुनै ठोस निचोडमा पुग्न सकेन। शनिबार सानेपास्थित पार्टी मुख्यालयमा भएको बैठकमा महाधिवेशन आम निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा मतभेद कायम रहेपछि छलफल निष्कर्षविहीन बनेको हो।
बैठकपछि पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिमा जारी बहसलाई सहमतिको दिशातर्फ लैजाने प्रयास भइरहेको बताए। उनका अनुसार, “हामी समान धारणा बनाउनतर्फ केन्द्रित भएका छौँ। सहमति नजिक पुगिएको अनुभव भएको छ, अन्ततः एउटै निष्कर्षमा पुग्ने विश्वास छ,” उनले भने।
महतका भनाइमा, महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा मुख्य विवाद रहेको छ। उनले थपे, “तर धेरै हिसाबले विचारहरू नजिक आएका छन्, अन्ततः साझा निष्कर्षमा पुगिने देखिन्छ।”
कांग्रेसको संस्थापन पक्षले आम निर्वाचनपछि, अर्थात् आगामी वैशाखतिर, महाधिवेशन गर्नु उपयुक्त ठानिरहेको छ। तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर समूहले निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्। यही विषयमा तीव्र मतभेद देखिएपछि केन्द्रीय समितिको चालु बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।







