बैतडी, १५ कात्तिकः जेनजी आन्दोलनका क्रममा घाइते भएका बैतडीका व्यक्तिहरूलाई ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गर्ने तयारी भएको छ ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा बैतडीका छ जना घाइते भएको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको छ । घाइते परिचयपत्र वितरणका लागि सूची सार्वजनिक गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले भने, गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएकाहरूको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले हामीलाई जिल्ला प्रशासन कार्यालय० पठाएको छ । त्यही सूची हामीले सार्वजनिक गरेका छौँ ।
गृह मन्त्रालयले पठाएको बैतडीका घाइते व्यक्तिहरूमा १९ वर्षीय दीपक साउँद, ३० वर्षीय मनिष ठगुन्ना, २४ वर्षीय हरिस भुल, २० वर्षीय वासु पुजारा, २३ वर्षीय लक्ष्मण भण्डारी र २५ वर्षीय हरिकृष्ण भट्ट रहेका छन् ।
सार्वजनिक गरिएको सूचीअनुसारका घाइते व्यक्तिहरूलाई सम्पर्क गर्न भनिएको उनले बताए । प्रजिअ पौडेलले भने, घाइते परिचयपत्र वितरणका लागि सूचीअनुसारका व्यक्तिलाई सम्पर्क गर्न भनेका छौँ । सम्बन्धित स्थानीय तह र प्रहरीले सूचीअनुसारकै व्यक्ति रहेको यकिन गरेपछि घाइते परिचयपत्र वितरण गर्छांै । गृह मन्त्रालयबाट प्राप्त सूची जिल्ला प्रशासन कार्यालयले यहाँका सबै स्थानीय तहहरूमा समेत पठाएको जनाएको छ ।







