काठमाडौँ, १३ कात्तिकः कार्तिक मासको अवसर पारेर अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ नेपाल इस्कोन ले देशभर ६० स्थानमा श्रीकृष्ण भगवान्लाई सामूहिक दीपदान गरिरहेको छ ।
सामूहिक दीपदानमा दैनिक हजारौँ मानिस सहभागी हुने गरेका छन् । स्कन्द र पद्म पुराणलगायत धार्मिक ग्रन्थमा कार्तिकमासमा भगवान् श्रीकृष्णलाई बेलुकीको समयमा दीपदान गरे लाखौँ जन्मको पाप नाश हुने उल्लेख गरिएकाले यस्तो कार्यक्रम आयोजना गरिएको इस्कोनका अध्यक्ष प्रदीप भण्डारीले राससलाई जानकारी दिए ।
आश्विन शुक्ल पूर्णिमादेखि सुरु भएको यो कार्यक्रम कार्तिक शुक्लपूर्णिमामा समापन गरिनेछ । यस अवसरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा आकाश दीपदान गर्ने गरेका छन् । इस्कोनका दीपदानमा लाखौँ मानिस सहभागी भइसकेको जनाइएको छ ।
काठमाडौँ उपत्यकाका नारायणस्थान चोक बूढानीलकण्ठ, महाराजगञ्ज, चाबहिल, स्वयम्भू, टोखा, पुल्चोक, ताहाचल, कोटेश्वर, दूधपाटी भक्तपुर र थली कागेश्वरी मनोहरा मा प्रत्येक दिन बेलुकी भगवान् श्रीकृष्णको मक्खन चोरेर बाँधेपछिको विग्रहलाई दीपदान भइरहेको इस्कोन चाबहिलका सचिव जीवन सिंहले जानकारी दिए ।
यसैगरी काठमाडौँ उपत्यका बाहिर रहेका ५० वटै इस्कोनका केन्द्रमा पनि दैनिक बेलुकीको समयमा दीपदान भइरहेको छ । गत असोज २१ गतेदेखि सुरु भएको दीपदान यही कात्तिक १९ गते समापन गरिने छ । तिलको तेल वा गाईको घ्यूमा बनाइएको बत्ती दीप प्रत्येक चोकमा आवतजावत गर्ने सबैलाई दान गर्न निःशुल्क दिने गरिएको छ ।
दीपदान गरिने स्थानमा इस्कोनबाट प्रकाशित पुस्तक बिक्री र चन्दा सङ्कलनसमेत गर्ने गरिएको छ । पुस्तकको बिक्री र चन्दा सङ्कलनबाट जम्मा भएको पैसा पारदर्शी रुपमा मानव सेवाका काममा उपयोग गरिएको इस्कोनले जनाएको छ।







