९ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

मुख्यमन्त्री कार्यालयको सभाहलबाट प्रदेशसभाको बैठक

बागमती, २७ असोज : बागमती प्रदेशसभाको बैठक हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको छ ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेश सभाहल र प्रदेशसभा सचिवालय भवन ध्वस्त भएपछि तत्कालका लागि अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्नेगरी प्रदेश सरकारले तयारी थालेको हो । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

अहिले सो भवनलाई मर्मत सम्भार, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ”, सचिव पौडेलले भने “सो सभाहलमा रङ्ग लगाउने, फर्निचर व्यवस्थापनसँगै विद्युतीकरणको काम तीव्र रूपमा भइरहेको छ । सम्भवत छिट्टै काम सकिने र त्यसपछि बैठकमा बस्ने तयारी भइरहेको उनको भनाइ छ ।

हाल सो सभाहलको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सरसफाइ र रङ्गरोगन गरिरहेको छ । बैठक सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर र अन्य प्राविधिक सामग्री तत्कालका लागि भाडामा लिएर वा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको सचिव पौडेलले बताए ।

आगजनीबाट जोगिएका केही ल्यापटप, डेक्सटप कम्प्युटरहरूबाट काम सुरु गरिएको उनको कथन छ ।

असोजको अन्तिमतिर प्रदेशसभा बस्ने तयारी

लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक यही असोजको अन्तिमतिर बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार दिपावली, तिहारभन्दा अघि नै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको केन्द्रीय तहमा बैठकहरू भइरहेकाले बैठकको मिति तय हुन नसकेको उनले बताए।

प्रदेश सरकार र प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले राजनीतिक दलका नेताहरूसँग परामर्श गरिरहनु भएको र उनीसँगको परामर्शपश्चात प्रदेशसभाको बैठकको मिति तय हुने सचिव पौडेलको भनाइ छ ।

सभामुखमा सत्तारुढ र प्रतिपक्षको दाबी

बागमती प्रदेशसभाको सभामुख पदमा सत्तापक्ष र प्रतिपक्षले दाबी प्रस्तुत गर्ने भएको छ । जेनजी आन्दोलनको क्रममा बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए ।

असोज १ गते उपसभामुख अपसारा चापागाईंलाई राजीनामापत्र बुझाउनुभएको थियो । यद्यपी उनको राजीनामा स्वीकृत भइसकेको छैन । अब बस्ने प्रदेशसभाको बैठकले सभामुख पाठकको राजीनामा स्वीकृत गर्दै नयाँ सभामुख चयनको प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताए ।

सभामुख चयनको प्रक्रिया सुरु हुने भएपछि सभामुखमा सत्तारुढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले तथा प्रमुख प्रतिपक्ष दल नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले दाबी प्रस्तुत गर्ने तयारी गरेको छ ।

केही दिनअघि बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले रिक्त सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए । अर्को सत्तारुढ दल एमालेले सभामुखमा दाबी गर्ने बताएको छ । कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले सभामुख आफ्नो दलले पाउनुपर्ने तर्क एमालेका नेताहरूको छ ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले रिक्त रहेको बागमती प्रदेशसभाको सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको छ । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार अहिले रिक्त रहेको सभामुख पदमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सशक्त दाबी प्रस्तुत गर्ने र त्यसका लागि प्रदेशसभाका प्रतिनिधित्व गर्ने सबै दलहरूसँग छलफल अघि बढाउने निर्णय गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि